थारु ‘बृहत् शब्दकोष’ प्रकाशित हुने

थारु बृहत् शब्दकोष प्रकाशनको अन्तिम चरणमा पुगेको छ । २४ हजार भन्दा बढी मूल शब्द रहेको शब्दकोषमा दाङ उपत्यका र देउखुरी उपत्यकामा बोलिने देउखुरीया र डंगौरा थारु शब्दका अर्थहरू छन्।

कोरोनाभाइरसले फैलाएको महामारीका कारण शब्दकोषको प्रकाशनमा ढिलाइ भएको लेखक तथा संकलक उदय आलेले बताए। शब्दकोषले दाङ, देउखुरी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र सुर्खेत जिल्लामा बसोबास गर्ने थारुहरुलाई सहयोग पुग्नेछ।

शब्दकोषलाई वैज्ञानिक बनाउने प्रयत्न गरिएकाले विद्यालय, र विश्वविद्यालयहरुमा प्रयोग गर्न सहज हुने लेखकको भनाइ छ। दैनिक जीवनमा नयाँ शब्दहरु पढ्न पाइने र लोप हुँदै गरेका शब्दहरुको संरक्षण समेत हुने लेखक तथा संकलक आलेको दाबी छ।

अहिलेसम्म प्रकाशित भएका थारु भाषाका किताबहरु नेपाली र हिन्दी वर्णक्रममा आधारित भएकाले उच्चारणमा थारु लवज नहुने उनको तर्क छ।

यो शब्दकोषमा थारु भाषा वर्ण निर्धारण गरिएकाले उच्चारणका लागि मानक भाषाको रुपमा काम गर्न सक्छ।

केही आयातित शब्दहरुको थारु समुदायले आफ्नो भाषिक वर्णमा ढालेर प्रयोग गर्नेलाई त्यही वर्णमा राखिएको आलेले बताए।

उदाहरण दिंदै उनले भने “गाडीको समान बोक्ने पछाडिको भाग ट्रलीलाई थारुहरुले ‘टराली’ भन्छन् । मैले शब्दकोषमा त्यसरी नै राखेको छु।”



मूल भाषा थारु र दोस्रो अंग्रेजी र नेपालीमा लेखिएकाे शब्दकोषमा अन्तर्राष्ट्रिय ध्वनि वर्ण प्रयोग भएकाले विदेशी खोज अनुसन्धानकर्ता, अध्ययनकर्ताहरुलाई सहज हुने लेखक आलेको भनाइ छ । यो शब्दकोषले मातृभाषाको पाठ्यक्रम निर्माण गर्न पनि सहज बनाउने लेखकको दाबी छ।

शब्दको अर्थसँगै लोप भइसकेका थारुहरुका घरेलु सामग्री, पहिरन र गहनाहरुका चित्रहरुको समेत प्रयोग भएको आलेले जानकारी दिए।

भाषाको समृद्धिको लागि उखान टुक्काहरुको महत्वपूर्ण भूमिका हुने भएकाले शब्दकोषमा थारु उखान टुक्काहरु पनि राखिएको उनले बताए।

थारु कल्याणकारिणी देउखुरी प्रकाशक रहेको शब्दकोष स्थिति सहज हुनासाथ बजारमा ल्याउने तयारी गरिएको छ।

हिमाल खबरबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित