थारु समुदायको महान पर्व माघ नजिकिदै गर्दा थारु समुदायले आफ्नो संस्कृति संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले गाउँदेखि शहरसम्म माघौटा विशेष साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरिरहेकाछन् । विशेष गरी थरुहट बाहुल्य क्षेत्रहरू जस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र कपिलवस्तु लगायतका जिल्लामा अहिले माघ विशेष मघौटा साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने होडबाजी शुरु भएको छ ।
थारु कल्याणकारिणी सभा लगायतका विभिन्न थारु संघ–संस्थाहरूले थारु कला र संस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दाङमा पुस १८ गतेदेखि २० गतेसम्म माघ साँस्कृतिक महोत्सव भयो। यस महोत्सवमा थारु समुदायका पुरुषहरूको छिटपुट सहभागिता बाहेक थारु महिलाहरूको उल्लेखनीय सहभागिता देखिन्छ । थारु भेषभूषा र मौलिक गहना सजिएर विभिन्न बाजागाजा सहित थारु महिलाहरू महोत्सवमा सहभागी भएका छन् ।
महोत्सवको उद्घाटन पूर्व बजार परिक्रमा गर्दा ५–६ जना थारु पुरुष बाहेक सबै थारु महिलाहरूलाई देख्न सकिन्छ । यद्यपि यसको नेतृत्व भने थारु समुदायका पुरुषहरूले गरिरहेका छन् । बजार परिक्रमा गर्दा अगाडि थारु पुरुषहरू छन् भने पछाडि सयौंको सङ्ख्यामा थारु महिलाहरू देखिन्छन् ।
यसैगरी, विभिन्न साँस्कृतिक कार्यक्रममा पनि थारु महिलाहरू नै अगाडि छन्, तर भाणभिषन कार्यक्रम र संस्थाको नेतृत्वमा भने थारु पुरुषहरूको हाबी देखिन्छ । उनीहरू थारु भाषा, कला, र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर भाषण गर्छन्, तर त्यो भाषण आफैले नै कार्यान्वयन नगरेको थारु महिलाहरूको गुनासो छ ।
“माघ कार्यक्रम मात्र होइन, हरेक कार्यक्रममा यस्तै देखिन्छ, थारु महिला अधिकारकर्मी एवं अधिवक्ता सुशिला चौधरीले भनिन्, यदि थारु महिलाहरू नभए, भने थारु संस्कृति नै संकटमा पर्ने देखिन्छ । घरको कामदेखि थारु कला र संस्कृतिको संरक्षणसम्म थारु महिलाहरूले निभाएको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । तर निर्णायक ठाउँमा भने थारु महिलाहरुलाई अधिकार दिइदैन, उनले भनिन् । संविधानले महिलाहरुलाई ३३ प्रतिशत अधिकार सुनिश्चीत गरे पनि थारु समुदायमा भने अहिलेसम्म यसको कार्यान्वयन भएको छैन ।
थारु कल्याणकारिणी सभा लगायतका विभिन्न थारु संघ–संस्थाको नेतृत्वमा अहिले पनि पुरुषहरूले महिलाहरुलाई अगाडि बढ्न दिन आनाकानी गर्दै आएका छन् । थारुहरूको परम्परागत मटावा र बरघर संस्थामा समेत थारु पुरुषहरूको हाबी छ । तर थारु कला र संस्कृतिको संरक्षण भने महिलाहरूले नै गरिदिनुपर्ने कस्तो विडम्बना, उनले प्रश्न गरिन् ।
“थारु कला र संस्कृतिलाई दिगो रुपमा संरक्षण र प्रवर्धन गर्ने हो भने थारु संघ–संस्थाको नेतृत्वमा पनि थारु महिलाहरूलाई अगाडि आउनुपर्छ,अधिवक्ता चौधरीले भनिन्, “यदि यो नभए अबको केही वर्षमा थारु कला, संस्कृति मात्र होइन, थारुहरूको पहिचानको अस्तित्व पनि गुम्न सक्ने खतरा छ ।’