प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माहोल छैन । स्थानीय तहको चुनाव पनि नजिक छैन । तर दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कमल सुवेदी भने अहिले पनि चुनावी अभियानकै शैलीमा गाउँगाउँ र घर–घर पुग्दै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ ।

निर्वाचनका बेला मत माग्दै घरदैलोमा पुग्नुभएका सुवेदी अहिले भने “जनसंवाद ः नागरिकसँग जनप्रतिनिधि” अभियान लिएर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने अभियानमा जुट्नुभएको हो । उहाँले पूर्वनिर्धारित कार्यतालिका बनाएर नियमित रूपमा गाउँबस्तीमा पुग्दै नागरिकसँग छलफल गरिरहेको बताउनुभयो । उहाँका अनुसार मतदातासँगको भेटघाटसँगै सरकारी कार्यालय तथा सञ्चालनमा रहेका विकास आयोजनाको अनुगमन गरी सेवाप्रवाह र कार्यसम्पादनको अवस्थाबारे समेत जानकारी लिइरहनुभएको छ । यसै साता गृह जिल्ला आउनुभएका सुवेदीले अहिलेसम्म बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिसक्नुभएको छ । यस्तै तुलसीपुर बसपार्कमा समेत नागरिकसँग भेटघाट गर्दै सुझाव, गुनासा र अपेक्षा सुन्नुभएको उहाँले बताउनुभयो । “जनताको घरदैलोमा पुगेर उहाँहरूको आवाज सुन्नु नै मेरो पहिलो दायित्व हो, सांसद सुवेदीले भन्नुभयो, जनसंवादका क्रममा उठेका समस्या, गुनासा र सुझाव सरकार तथा संसद्सम्म पु¥याएर समाधानका लागि आवश्यक पहल गर्छु ।”
सांसद सुवेदीका अनुसार अधिकांश मतदाताले स्थानीय तह देखी सरकारी कार्यालायबाट प्रवाह हुने सेवामा हुने ढिलासुस्ती हटाउन, विकास निर्माणका काम समयमै सम्पन्न गर्न, आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट खर्च गर्ने असारे बजेटको प्रवृत्ति अन्त्य गर्न तथा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । उहाँले नागरिकबाट प्राप्त सुझावलाई गम्भीर रूपमा लिँदै संसद्मा आवाज उठाउने र सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने बताउनुभयो । सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न र आवश्यक नीतिगत सुधारका लागि केन्द्रस्तरबाट पहल गरिरहेको उहाँको भनाइ छ ।
यस्तै दंगीशरण गाउँपालिका–४ मौलीका स्थानीय मतदाता रोशन रत्गैयाले प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधि पहिलो पटक आफ्नै घरमा आएर समस्या सुनेको बताउनुभयो । “सासंद निर्वाचित भएपछि पहिलो पटक मथिल्लो तहका जनप्रतिनीधि घरमै आउनुभयो, धेरै खुशी लाग्यो, अहिलेका जनप्रतिनिधि साँच्चिकै जनताको प्रतिनिधिजस्तो लाग्यो, उहाँले भन्नुभयो, हामीले उहाँलाई चुनावका बेला गर्नुभएका प्रतिबद्धता कार्यान्वयन गर्न सुझाव दिएका छौँ । अब उहाँले ती प्रतिबद्धता कसरी पूरा गर्नुहुन्छ, त्यो हेर्नेछौँ ।” निर्वाचनपछि पनि नियमित रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै जनताको सुझाव संकलन गर्ने सांसद सुवेदीको अभियानलाई स्थानीयले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादको अभ्यासलाई स्थानीहरुले सकारात्मक रूपमा लिएका छन् ।


