पाकाले पस्किए मघौटा

जेएन सागर

माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे नयाँ पुस्तालाई सुनाएका छन् ।

सीता ओ जानकी एक दिदी बहिनी रे हाँ ।

सीता ओ जानकी चोल्यो पानी घाट…सखिय हो ।

माघीका दिन विहानै नदी, तलाउमा नुहाएर शुद्ध हुने चलन थारु समुदायमा छ । त्यसैले यिनै गीत गुनगुनाउँदै सबैलाई नुहाउन उर्दी गरिन्छ । हुन त रातभर ढुम्रु गाएर जागाराम बस्नेजस्ता थुप्रै कर्म गर्ने थारु समुदायमा छोरी, चेलीले गर्ने कर्म अलि मार्मिक छ भन्नुहुन्छ घोराही–१७ की ७० वर्षीया चुल्या चौधरी ।

बाबाकी सगरमा मुरिया लहाना गइनु रे हाँ

सेन्दुर छुटल पानी घाट । सखिए हो……

बाबाक आघ करु ढ्वाग सलाम्…सखिए हो ।

बिहानै स्नान गरी आएका छोरी, बुहारीले अभिभावकलाई ढोग गर्ने र आशीर्वाद लिने माघीको एउटा मर्म हो । आशीर्वाद लिइसकेपछि छोरी चेलीले भने माइतीको सम्झनामा गीत गुनगुनाउँदै रमाइलो गर्ने चलन रहेको ज्येष्ठ नागरिक चुल्या चौधरीले सुनाउनुभयो । माघी थारु समुदायको नयाँ वर्ष हो । नयाँ योजना बनाउने दिनमात्रै होइन छोरी, चेली सम्झिने र भाइचारा बढाउने पर्व पनि हो । चेलीका लागि निसराउ दिने दाजु,भाइहरुको तयारी भइरहँदा विहे गरेर गएका चेलीले भने दक्षिणासहित निसराउको आशा गीतबाटै गर्ने चलन छ भन्नुहुन्छ घोराही–१७ कै ७१ वर्षीया दशनी चौधरी ।

बाँसक सुपामा निसराउ कहरना रे हाँ

डाडु मोर लानीडे हो दक्षिणा हमार, सखिए हो…

छोरी चेलीका लागि भाग छुट्याएर निसराउ निकालेपछि मात्रै थारु समुदायमा औपचारिक माघी शुरु हुन्छ । आफ्ना चेलीलाई भाग अलग नगरी आफूले नखाने चलन थारु समुदायमा छ । त्यही निसराउ भोलिपल्ट छोरी चेलीलाई पु¥याइदिएर सम्मान गर्ने संस्कारले भाइचारा बढाउने दशनीको भनाइ छ । जव छोरी, चेलीलाई भाग लगेर दाजु भाइ चेलीकोमा पुग्छन् चेलीले पनि भव्य स्वागत गर्छन् ।

डाडु मोर बैठल सतरंगी गुदरी रे हाँ

जेही तर डाडु वैठी विसा सकिए हो….

छोरी, चेलीको भाग बोकेर जाने माइतीलाई चेलीको पनि कम्तिको स्वागत हुँदैन । खुवाई, पियाइ गरेर माइती खुशी पार्न चेलीको पनि धुमधाम स्वागतले परिवारिक सम्बन्ध बलियो हुन्छ भन्नुहुन्छ ७० वर्षीया ज्येष्ठ नागरिक सेत्या थरुनी । झैझगडा, रिस राग हटाएर आफ्ना आफन्त भेटघाट गरी रसरङ समेत गर्ने माघीको अर्को सामाजिक पाटो हो ।

कौनो कोन्टीबाट अनदीक झ्वार रे हाँ

पहिलेत लानो भौजी तित गुरी जाँर, सखिए हो…

नयाँ वर्ष, योजना निर्माण, नेतृत्व निर्माण र भाइचारा बढाउने ऐतिहासिक माघी पर्वलाई जाँड, रक्सीबाट भने मुक्त गर्नुपर्ने घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीको भनाइ छ । नयाँ पुस्ताले लिनुपर्ने संस्कार, संस्कृति बिर्सिने तर लिनै नहुने जाँड, रक्सी लिने प्रवृत्तिले थारु समुदाय र ऐतिहासिक माघको मौलिकतामा क्षति पुगेको अध्यक्ष चौधरीको ठहर छ ।

सहयोगी बन्यो प्रथम

थारु कला, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउन भन्दै घोराही–१७ ले शनिबार ढिकपुरमा आयोजना गरेको माघी महोत्सव तथा नृत्य प्रतियोगितामा सहयोगी टोल प्रथम भएको छ । यस्तै लक्ष्मी टोल भैंसाही द्वितीय र कर्जाही टोल तृतीय भएका छन । प्रथमलाई तीन हजार पााँच सय, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार पाँ‘च सय तथा प्रतियोगितामा भाग लिने अरु १६ टोल विकास संस्थालाई दुई÷दुई हजार पुरस्कार र प्रमाणपत्र दिइएको छ । सो अवसरमा थारु भाषा, संस्कृतिमा योगदान पु¥याएको भन्दै कुलवीर चौधरी, कुलबहादुर चौधरी, बुझौना चौधरी, आशाराम चौधरी, मोतीलाल चौधरी, बसन्त चौधरी र चुलिया चौधरीलाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष रामलौटन चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले थारु कला, संस्कृति र भेषभूषालाई व्यवसायसँग जोडेर आर्थिक आर्जन गर्न जोड दिनुभएको थियो । उहाँले थारु समुदायले खानपानमा समेत सुधार ल्याउन जरुरी रहेको भन्दै कृषिसँगै उद्यममा जोडिन थारु सुमदायलाई आग्रह गर्नुभयो । महोत्सव मुल आयोजक समितिका उपसंयोजक बुझौना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा थारु कल्याणकारिणीसभाका सल्लाहकार कुलवीर चौधरी, नेकपा माओवादी केन्द्रका खुशीराम चौधरी, घोराही उपमहानगरपालिकाका डिई युवराज पौडेल र पत्रकार प्रकाश चौधरीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण चिल्लु चौधरीले गर्नुभएको थियो ।

नयाँ युगबोधबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित