थारु समुदायमा श्रीकृष्णअष्टमी


थारू समुदायका (महिलाहरु) को विशेष अर्थात् महत्वपूर्ण पर्व हो “अष्टिम्की” । यो पर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइन्छ् । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा “अष्टिम्की” अर्थात् “श्री कृष्ण जन्माष्टमी” मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा)को पूजा गरिन्छ । थारू महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनााउँछन् । थारू जातिको इतिहास प्रारम्भ भएदेखि थारू महिलाहरुले यस पर्वलाई उत्साहका साथ मनाउने गरिएको पाइन्छ । यति मात्रै हैन थारू जातिको उत्पत्ति कहाँ, कसरी भयो, थारूहरुको सभ्यताको सिर्जना कसरी भयो भन्ने कुराको स्पष्टता अष्टमीमा गाइने गीतबाट हुन्छ, त्यसैले पनि थारू समुदायमा श्रीकृष्ण जन्माष्टमी र कृष्ण (कान्हा) को सम्झनामा अष्टमीमा गाइने गीतकोे महत्व रहेको छ । इशरु, जाशु, कान्हा, र राधा थारूहरुको पूर्वज तथा अग्रज हुन् भन्ने थारू बुद्धिजीवीहरुको भनाई छ ।
थारू समुदायका महिलाहरुले मनाउने विषेश पर्व श्रीकृष्ण जन्म अष्टमी हर्षाैउल्लास पूर्वक मनाउने गरिन्छ । अष्टमीमा थारू समुदायका महिलाहरुले मध्येरातमा घरका सदस्यहरुसँग सामुहीक रुपमा दर खाने गर्दछन् । उनीहरु दिनभर निरहार व्रत बसी बेलुकी पख सामुहिक रुपमा गाउँको महटवाको घरमा गई पालैपालो श्रीकृष्णको पूजा आरधना गर्छन । किशोरीहरुले योग्य वर पाउँ भन्दै वर्त वस्ने गर्छन भने विवाहित महिलाहरुले आफ्नो श्रीमान्को आयु लामो होस् भन्नको लागि व्रत बस्छन् भन्ने परम्परागत मान्यता रहेको पहिलेका थारू बुद्धिजीवीहरुको भनाई छ ।


अष्टमीमा दिदीवहिनीले दाजुभाइलाई दिने कोसेलीले सम्वन्ध प्रगाढ बनाउने गर्छ । जुन कासेलीलाई थारू भाषामा “अग्रासन” भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दाजुभाइका लागि छुट्याउने गरिन्छ । अग्रासनले भावनात्मक सम्बन्धका प्रतिक मात्र नभई दाजुभाई दिदी बहिनी लगाएत पारिवारिक सम्बन्धलाई नै सुमधुर र आत्मीयता कायम गरेको हुन्छ । सबै चेलीवेटीहरु जम्मा भएर रमाउने र एक अर्कामा माया र सद्भाव साटासाट गरेर यो पर्व मनाइन्छ । यति मात्र होइन यस पर्वले दाजुभाइ र दिदीबहिनी विचको सम्बन्धलाई प्रगाढ बनाउँछ ।


यस्तै यस पर्वले थारू समुदायको धार्मिक र सांस्कृतिक महत्व पनि बोकेको छ । अग्रासन अर्थात् दिदीबहिनीहरुले आफैँले बनाएको मिठा मिठा परिकार मिठो मसीनो खाने कुरा मात्र नभई प्रत्येक वर्ष देवीदेवताको सम्बन्धलाई नविकरण गर्नु र माइती पक्ष र चेलीवेटी विचको मानविय संवेग माया, प्रेम र आस्थाको वर्सेनी नविकरणको रुपमा पनि अग्रासनलाई लिने गरिन्छ ।
दाइभाइ नहुने दिदीबहिनीहरुले भने अग्रासनलाई अरु आफ्ना आफन्ती दाजु भाइहरुसंग भावनात्मक रुपले सुमधुर एवं आत्मीयता कायम होस्् भन्नको लागिदिने चलन छ।
चाहे देविदेताको नविकरण होस् चाहे माईती पक्ष र चेलीवेटी विचको सम्बन्ध किन नहोस् त्यसैले सम्पूर्ण थारू समुदाय यदी माईती पक्ष र चेलीवेटी विचको आत्मीयता कायम गर्नु छ भने अग्रासनलाई पनि महत्वका साथ ग्रहन गर्न उत्तीकै आवश्यक छ । अष्टमी आउनु भन्दा केही दिन पहिलेदेखि गाउँघरमा अष्टमीको बारेमा कुरा चल्न थाल्छ । के लगाउने, कस्तो लगाउने, अष्टमीको जात्रा हेर्न कहाँ जाने आदि इत्यादि विषयमा खास गरी थारू युवायुवतीहरुमा कुरा चल्न थाल्छ । यी विषयमा पूर्व योजनाहरु पनि बनाइन्छ ।


श्री कृष्ण जन्मअष्टमी थारू महिलाहरुको सवैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो । सधैँ काममा व्यस्त रहने थारू समुदायका महिलाहरुले यस दिन रमाइलो गर्ने र कामको थकान अत्याधिक हुने भएकाले थकाई मेट्ने दिनको रुपमा पनि लिने गरिन्छ । पहिलेको तुलनामा अहिले श्री कृष्ण जन्मअष्टमी मनाउने तरिका समयसगसंगै विस्तारै फेरिदै गएको पनि पाइन्छ , परिवर्तन गर्नु पर्ने त होइन तर पनि समय र परिस्थिति अनुसार चल्नु पर्ने हुनाले पनि यो अवस्थाको सिर्जना भएको हो । अष्टमी आउनु भन्दा करिब करिब एक महिनादेखि नै गाउँघरमा चहलपहल हुन थाल्छ । किलमेल गर्नेदेखि हरेक कुराहरुले स्थान पाउँछ । तयारी धेरै पहिलेदेखि भए पनि एक हप्ता अगाडिदेखि तीव्र गतिमा तयारी हुन सुरु हुन्छ । तर विगतका वर्षमा भन्दा यस वर्ष भने कोरोना महामारीका कारण अष्टमीका लागि बजारमा किनमेल गर्न आउने जानेहरुको खासै चहलपहल देखिदैन ।
पहिले जस्तै त्यति धेरै तयारी गर्नु त पर्देन तर पनि तयारी भनेको तयाारी नै हो । पहिले सियोको सहायताले कुनै पनि मेसिन बिना हातले नै सिलाएर लगाइने चोली (चोल्या ) लगाइन्थ्यो भने अहिले रेडिमेट सिलाएका लुगाहरु लगाउने चलन बढी भन्दा बढी छ तर सयम र परिस्थितिको परिवर्तन संगसंगै यस्ता कुराहर परिवर्तन हुनु पनि पर्छ । तर अर्को पाटो हेर्ने हो भने सयम र परिस्थितिको परिवर्तन संगसंगै चल्नु पर्छ भनेर आधुनिकतालाई मात्रै ध्यान दिने हो भने त थारू समुदायको पहिचान नै ओझेलमा पर्न नसक्ला भन्न सकिदैेन । त्यसैले समय संगसंगै हरेक कुरामा परिवर्तन हुने स्वभाविक पनि हो हुनु पनि पर्र्छ तर त्यसो भन्दैमा आफ्नो मौलिक पहिचान र संस्कार संस्कृतिलाई पनि सोच्न आवश्यक छ ।


थारू समुदाय प्रकृतिपूजक समुदाय भएको हुनाले यो समुदायले मान्ने हरेक पर्वहरु फरक छन् । सन्दर्भ पर्व श्री कृष्ण जन्मअष्टमीको छ । श्री कृष्ण जन्मअष्टमी आउनु भन्दा ४।५ दिन बाँकी हुँदा विशेष तयारी गरिन्छ । लगाउने, किनमेल गर्नेदेखि सबै तयारी हुन्छ ।
थारू महिलाहरुको मौेलिक भेषभूषा सेतो गुनियो, चोली अर्थात ब्लाउज (चोल्या, गोन्या, लेहेंगा) छ । कसैैले यसैलाई प्राथमिकता दिन्छन् भने कसैले आधुनिकतालाई पश्रय दिन्छन् । जुन कुरामा आफ्नो स्वतन्त्रता छ । यसलाई आफूले व्यक्तिगत र स्वतन्त्र पक्षको रुपमा लिन सकिन्छ । अष्टमीको अघिल्लोे दिन थारू समुदायका महिलाहरु अष्टमीमा खाने कुराको तयारी हुन्छ । अघिल्लो दिन दर खाने चलन छ ।
अष्टमीको दिन
अष्टमीको दिन विहानै गाउँको अगुवा, मटावाँ, भलमन्साकोे घरको बैठक कोठा (बह्री)मा उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ । अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक हुन्छ । सवैभन्दा माथि ४ वटा मान्छेको टाउको बनाइएको हुन्छ ।जसलाई थारू भाषामा बरमुन्हा भन्छन् । बरमुन्हा रामायणको रावणको थारू नाम हो । भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ । फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रंगीविरंगी बुट्टा भरिएको हुन्छ । एक लाइनमा द्रौपदी बनाइएको हुन्छ भने अर्को एक लाइनमा पाँच पाण्डवहरुको तस्वीर हुन्छ । पाण्डव थारू समुदायको सवैभन्दा ठूलो देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर हुनु पर्ने थारू बुद्धिजीवी छोटीलाल थारूले बताए । उनीहरुको तस्वीर कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको तस्वीर बनाइएको हुन्छ । एउटा डोलीको चित्र पनि हुन्छ । उक्त डोलीमा पहिले द्रौपदीलाई भित्र्याइएको भन्ने भनाई थारू बुद्धिजीविहरुको पाइन्छ । यस्तै हलोजुवा पनि बनाइएको हुन्छ । खेतीपाती गर्ने थारू समुदायलाई हलोजुवा आवश्यक पर्ने हुनाले हलो जुवाको तस्वीर बनाइएको को भन्ने परम्परागत मान्यता भएको पाइन्छ । नदी तर्नका लागि भनेर डुङ्गा, दिन र रात छुट्याउनका लागि सुर्य र चन्द्रमा, पाण्डवहरुको रक्षामा लागि दुई वटा कुकुरको तस्वीर हुने ऐतिहासिक मान्यता रहेको पाइन्छ । यो सँगसँगै भगवान कृष्ण, नदीको आकृति, रुख, मयूर, गाई लगायत विभिन्न किसिमका आकृति बनाइएको हुन्छ ।
पहिले थारू समुदायको घर नै छुट्टै पहिचान बोकेको थियो तर अहिले समय परिवर्तनका कारण घरको बनावटमा पनि परिवर्तन भइसकेकाले स्थान अनुसार कतै डिहरीमा त कतै भित्तामा जन्माष्टमीको तस्वीर बनाइन्छ । पहिले घरभित्र भित्ता नहुने तर भित्ताको सट्टामा माटोले बनाइएको दरा (थारू भाषामा डेहरी ) हुन्थ्यो । त्यसलाई ढुङ्गाबाट सेतो चुनले लिपेर त्यही डेहरीमा विभिन्न आकृतिका तस्वीरहरु बनाइन्थ्यो तर अहिले स्थान अनुसार केही परिवर्तन हुन थालेको छ । तस्वीर बनाउने मान्छे पनि व्रत बस्नु पर्ने हुन्छ । जुन तस्वीर अष्टमीको दिन विहान थारू समुदायका महिला या पुरुष दुवैले विहानै नुहाईधुहाई गरी केही पनि नखाएर तस्वीर बनाइन्छ ।
तस्वीर बनाएर तयार पारिसकेपछि साँझ पर्छ गाउँका सवै महिला दिदी वहिनीहरु गाउँको अगुवाको घरमा अष्टिम्की टिक्न (कृष्णको पूजा गर्न) जानका लागि तयार हुन्छन् । घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल, सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ती बालेर राखिन्छ र अस्टिम्की टिक्न (पूजा गर्न ) जाँदा सबै भन्दा पहिले घरमूलीले सुरुमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः रुपमा लाइनबद्ध तरिकाले उठाउने गरिन्छ । टिक्ने स्थान पुगेपछि पनि घरमूलीदेखि नै सुरु हुन्छ । घरमूलीले नटिक्दा सम्म (पूजा नगर्दा) कसैले टिक्न (पूजा गर्न) पाउँदैन । घरमूलीले टिकी (पूजा) गरी सकेर अनुमति दिएपछि अरुले सुरु गर्न पाउने पहिलेदेखिको प्रचलन अहिले पनि कायमै छ । यसरी कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारू समुदायका महिलाहरुले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् ।
भगवान श्रीकृष्णको पूजा गर्ने बेला गाइने गीतको केही अंश
पहिल ट सिरिजल री जलठल ढरटी ।
सिरिजि ट गैल कैली कुश डाब ।।
कबरी चह्रैबो मोर सिरके सेन्डुर ।
बरहु बरस री कही परव मै रहनु ।
ओटि टह्ररो बाह्रु कन्यैया टिक महि डेओ । डेओ

यसरी गति गाउँदै पूजा गर्ने र पूजा गरी सकेपछि पुनः सबै दिदीबहिनीहरु आ आफ्नो घरमा गई थारूहरुको परम्परा अनुसार विशेष गरी कृष्णलाई मन पर्ने परिकार दही, केरा, काक्रा, अम्बा लगाएतका फलफूलले कृष्णलाई पुजा गर्ने गर्दछन ।
साँझ घर फर्किएर घरमा तयार पारिएको दहि, लौनी, काँक्रा, अम्बा, केरा, स्याउ लगायत फलफूल पहिले आप्mना दाजुभाईका लागि आप्mनो भागबाट छुट्याएर राख्ने र थारूहरुले हरेक पर्वमा पुज्ने अग्नि देवता हुन्छ । अष्टमीमा पनि अन्गि देवतालाई नपुजी खान नमिल्ने हुनाले दाजुभाईका लागि कोसेली छुट्याएर अन्गिलाई पुजी आफूले खाइन्छ । सबै परिवारका सबै जना संगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दैे खाने र रमाउने गरिन्छ ।
पुजा समापन पछि बिशेष परिकारका साथ रमाईलो गरि आपसमा बाडीचुडि खानपिन गर्ने चलन रहेको छ । र रातभर सामुहिक रुपमा कृष्ण अर्थात कान्हाको सम्झनामा गित गाउने गरिन्छ । रातभरी कृष्णको अगाडि बालिएको बत्ती निभ्यो भने मागेको मनोकांक्षा पुरा नहुने विश्वास रहेको छ । त्यस कारण बत्ती निभ्न नपाओस् भनेर रातभरी जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाइन्छ ।
रात भरी बत्ती कुरिरहेको बेला गाइने गीतको केही अंश ( डिया जागबेरिक गिट),
टै का इसरु बइठी का र बिसैठ्या
जाओ इसरु म्वार हरवा ओहार ।
टै का री जासु हरवा ओहार पठैठ्या
मोर लाग जासु भटकि भटौरा रिझ ।
कब बासि मुर्घा खैबि कैँठा भाट
कब बासि मुर्घा खैबि गब्डा भाट ।।
अष्टमीको दोस्रो दिन
यस्तै अर्को दिन विहान पनि थारू समुदायका लागि महत्वपूर्ण दिन मानिन्छ । रातभरी जाग्राम बसेका महिलाहरु विहानै भाले बासेसँगै घरमा कोही भान्सातिर लाग्ने कोही कता, सबै आ –आप्mनै काममा व्यस्त हुन्छन् । विस्तारै उज्यालो भएसंगै पुनः कृष्णको पूजा गर्नु पर्ने हुन्छ र रातभर जाग्राम बसि आठौ अबतारको रुपमा कंशको नाश गर्न जन्म लिएका कनैया (कृष्ण) को पुनः भोलीपल्ट विहान पुजा गरिन्छ । साँझ तयारी गरैझैँ तयारी गर्ने र कृष्णको पूजा गर्नलाई थारू समुदायको मौलिक भेषभूषामा सबै महिलाहरु सजिएर लामबद्ध तरिकाले अष्टिम्की टिक्नलाई गाउँको अगुवाको घरतिर लाग्छन् । सबै जना पूजा गरिसकेपछि अर्थात अष्टिम्की टिकी सकेपछि सामूहिक रुपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जाने गरिन्छ । सेलाउन जाने युवती तथा महिलाहरुलाई थारू समुदायको इतिहासमा गोपिनीको नामबाट चिनिन्छ ।


यता घरमा यस दिन जोडा तरकारी पकाउन नमिल्ने प्रचलन पहिलेदेखि भएको थारू बुद्धिजीवीहरुले बताउँछन् । विजोडा तरकारी ३, ५ तथा ७ वटा विभिन्न किसिमका गेडागुडी, सागपात, पकाएर तयार हुन्छ । अरु पर्वमा माछामासुलाई प्राथमिकता र महत्व दिइन्छ तर यसदिन भने सागपातलाई विशेष महत्व दिइन्छ । सोही अनुसार फुलपाती सेलाएर सबै रमाउँदै पुनः घर फर्किने र घरमा पकाएको भात, तरकारी दाजुभाईको लागि छुट्याएर अग्नि देवतालाई पुजा गरी आफूले खाने गरिन्छ । दाउरा बालेर बनाइएको हुन्छ । त्यही दाउरामा बल्दै गरेको आगो (अग्निदेवता) लाई पूजा गरिन्छ । जुन अग्निदेवतालाई थारू भाषामा अग्यारी भनिन्छ । यसरी कृष्णको पूजा गरी अग्रासन छुट्याइ सकेपछि अविवाहित युवतीहरुले घरको दाजुभाईलाई खान दिने र विवाहित महिलाहरुले माइतीमा रहेका आप्mनो दाजुभाईलाई दिन जाने गर्दछन् । आप्mनै दाजुभाई नहुनेले नजिकको नाता पर्ने दाजुभाईलाई पनि दिने गरिन्छ । दाजुभाई र दिदीवहिनी बिचको सम्बन्धलाई सुमधुर बनाउन पनि यस पर्वको महत्व एकदमै छ । यस कारण पनि थारू समुदायका लागी अग्रासनले छुट्टै पहिचान कायम गरेको छ ।
यसरी थारू समुदायमा अष्टिम्की अर्थात श्रीकृष्ण जन्मअष्टमीलाई विदाई गरिन्छ ।


आधुनिकीकरण हुदै जन्माष्टमी
अहिलेको समयमा हेर्ने हो भने समय परिवर्तनसँगै विज्ञान र प्रविधिको विकासँगै धेरै आधुनिकता भित्रिसकेको छ । यही आधुनिकतासँगै थारू समुदायमा पनि धेरै कुराहरुमा आधुनिकीकरण भइसकेको छ । लवाई, खवाईदेखि लिएर हरेक चिजमा परिवर्तन भएको छ । समय र परिस्थिति अनुसार परिवर्तन हुनु पनि पर्छ तर परिवर्तनसँगसँगै परिवर्तन हुुनुपर्छ भन्दैमाआफ्नो पहिचान नै धरापमा पारेर होइन । मौलिकता र आधुनिकता दुवैलाई ध्यान दिएर सँगसँगै लैजान सक्यौँ भने पक्कै पनि राम्रो हुनेछ । पहिले जन्माष्टमीमा भित्तामा कोरिएको तस्वीर भन्दा पनि बजारमा पाइने श्रीकृष्णको पोष्टरमा पुजा गर्ने प्रचलन वढी छ । जुन थारू समुदायको लागि चिन्ताको विषय बनेको छ । यस्तै पहिलेको तुलनामा अहिले थारू महिलाहरुले जन्माष्टमीमा लगाउने पहिरनमा धेरै नै फरक छ । पहिले चोल्या र गोन्यालगाउँथे भने अहिले त्यसको सट्टामा रेडिमेट सिलाएका लेहेङगा, व्लाउज, पाइन्ट, टिसर्टहरु लगाउने गर्छन । थारूहरुको पुराना गरगहना पनि अहिले लगाउन छोडिसकेका छन् । अरु समयमा जे जस्तो पहिरन लगाए पनि जन्माष्मी जस्ता थारू समुदायको चाडपर्वमा मौलिक भेषभूषा लगाउन सक्यौँ भने थारू समुदायको पहिचान ओझेलमा पर्ने छैन भन्ने विश्वास लिन सकिन्छ । भेषभूषामा फरक भएता पनि जन्माष्टमीको खानपानमा भने त्यति फरक छैन पहिलेको जस्तै अहिले पनि निरन्तर चलिरहेको छ । त्यस्तै जन्माष्टमीमा थारू समुदायका महिला दिदीबहिनीहरुले आफ्ना दाई भाईलाई दिने कोसेली (अग्रासन) दिने चलनमाअहिले केही कमी आएको थारू बुद्धिजीवीहरु बताउँछन् । दिदीबहिनी र दाजुभाई विचको सद्भाव, माया, स्नेहको प्रतीक मानिने कोसेली दिने परम्परालाई निरन्तरता दिनु अत्यन्त आवश्यक छ । आफ्नो चानचलन, रितिरिवाजलाई छोड्नु भन्दा पनि आधुनिकतासँगै पुराना संस्कृतिहरुलाई आत्मसात गर्दै अगाडि बढ्यौँ भने भोलीका दिनमा थारू समुदायको पहिचान ओझेलमा पर्ने छैन । कोरोना महामारीले विश्व आक्रान्त भइरहेको बेला सबैले सुरक्षित र भिडभाड नगरि कृष्ण जन्माष्टमी मनाउँ सबैमा शुभकामना ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित