कोरोना माहामारीले विश्व आक्रान्त बनेको अवस्थामा हाम्रो मुलुक पनि त्यसबाट अछुतो रहन सकेको छैन । निजि क्षेत्रको उल्लेख्य भुमिका आवश्यक रहेको हाम्रो जस्तो विकाशसिल मुलुकमा निजि क्षेत्र थिलो थिलो भएको छ । सरकारले अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरणका लागि खेल्नु पर्ने भुमिका निरासाजनक नै छ । यी सबै पक्षहरुलाई हेर्दा न्युन आयश्रोत भएका गरिखाने वर्गको बाहुल्यता रहेको देखन्छ । नेपालमा अधिकांसगरिखाने बर्गकै रुपमा रहेका थारु समुदायले यस महामारीको प्रत्यक्ष रुपमा भोग्नु परिरहेको छ ।
यस जटिल परिस्थितिमा राज्यका हरेक अंगहरु चुस्त दुरुस्त भएर जनजिविकाको सवालमा सकृय हुनु पर्नेमा भष्ट्राचार र दण्डहिनतालाई प्रसर्य दिइरहेको आम जनताको देखाई र भोगाई रहेको छ । दिनानुदिन संस्थागत भष्ट्राचारका काण्डहरु एक पछि अर्को गर्दै अर्को गर्दै बर्खायाममा आउने पहिरो जस्तै निरन्तर आउनुले आम जनताको मन कुडिनु स्वभाबिक नै छ । हुँदाहुदैं न्यायालयमा समेत यस्को प्रभाब परेको हो की भनेर जनता ससंकित बनेका छन् । हालै न्यायालयले आफ्नै श्रीमतीको हत्या आरोप पुष्टी भएका पुर्व डि.आइ.जी रञ्जन कोइरालालाई तोकेको सजाय अवधी पुरा नहुदै जेल मुक्त गराएको छ । कुनै व्यक्ति आरोप प्रमाणित भएर पनि जेलमुक्त हुदा पुनः माननिय रेशम चौधरीका विषयमा बहस हुन थालेको छ ।
२०७२ सालको टिकापुर घटनामा आरोपी भनिएका तर हाल सम्म पनि प्रमाणित हुन नसकेका र त्यस क्षेत्रका आम जनसमुदायले २०७४ सालको आम निर्बाचनमा अत्याधिक बहुमतले संघीय संसदमा विजयी गराई निज रेशम चौधरी आरोपी नहरेको पुष्टि समेत गरिसकेको अवस्थामा समेत जेलमै राखेको अवस्थाले मुलुकको न्याय प्रणाली प्रति समेत आम जनताको विषेश गरी टिकापुरका आम मतदाता र सिंगो थारु समुदाय ससंकित हुनु स्वभाविक देखिन्छ ।
न्यायालय सहित राज्यका सबै अंगहरु कुनै न कुनै प्रकारको प्रभाबमा परेर काम गरिरहेको आभाष जनताले महशुस गरिरहेको अवस्थामा माननिय रेशम चौधरीको विषयमा तत्कालिन राष्ट्रिय जनता पार्टी र हालको जनता समाजबादी पार्टीले खेलेको भुमिकाको विषयमा समेत जनताले जवाफ खोजी रहेका छन् । हुन त राजनितिक दल र तिनका अगुवाहरुले आफ्नो निहित स्वार्थका लागि धेरै व्यक्तिहरुको जनजिविका धरापमा पारेको कुरा नौलो होईन । राजनितिक दलहरुले जस्तै फुटाउ र राज गरको नीति थारुहरुको अगुवा संगठन थारु कल्याणकारी सभाले समेत अंगालेको देखिन्छ । थारुहरुको हकहितको सवालमा आवाज नपुगेको आवाजलाई राज्यको मुल धारसम्म पु¥याउने उद्देश्यले स्थापित थारु कल्याणकारी सभाले आजभोली थारुहरुको संघर्ष र बलीदानीलाई निहित व्यक्ति र समुहको स्वार्थ पुर्तिका लागि प्रयोग गरिरहेको छ । थारु समुदायको पहिचानको मुद्धालाई स्थापित गराउनु भन्दा पनि उक्त आन्दोलनको जगमा टेकेर सिमित व्यक्तिहरुको राज्य सत्तासँग मोलमोलाई गरी निजि स्वार्थ पुर्ति गर्ने बाटो समातेका छन् ।
थारु कल्याणकारी सभाका यी गतीविधिहरुको कारण यस अग्रणी संस्थाले थारुहरुको पहिचानको मुद्धा र आन्दोलन कमजोर बन्दै गएको छ । थारु कल्याणकारी सभा थारुहरुको हकहितमा के कस्तो भुमिका निर्वाह गरिरहेको छ भन्ने कुरामा गत बर्ष भाद्र दोस्रो साता टिकापुरमा सम्पन्न थारुहट थारुबान राष्ट्रिय सम्मेलनको अवसरमा थारु कल्याणकारी केन्द्रको सहभागितालाई हेर्दा प्रष्ट थाहा हुन्छ । उक्त थारुहट थारुबान राष्ट्रिय सम्मेलनको टिकापुरमा सामाजिक रुपमा रहेको सामाजिक विभेदलाई न्युन गर्दै थारु हकहितको आन्दोलनमा अन्य सबै समुदायहरुको साथ समर्थन जुटाउन सफल हुदै गर्दा थारु कल्याणकारी केन्द्र भने उक्त सम्मेलनको वेवास्ता गर्दै थारु समुदायमै विभिन्न खालका भ्रम सृजना गर्दै फुटाउ र राज गरको नितिमा हिडिरहेको देखियो ।
थारु कल्याणकारी सभाको शुन्य सहभागिताको बाबजुद गतबर्षको सम्मेलनले सफल रुपमा उद्देश्यहरु प्राप्त गरेको छ भने पुनः यस बर्ष पनि टिकापुर घटना भएको मितिलाई नै आसपास पारेर आन्दोलन गर्ने तयारी भइरहेको छ । यस वर्ष हुने आन्दोलनको हकमा समेत थारु कल्याणकारी सभाको सहभागी शुन्य हुने अवस्थामै रहेको देखिन्छ । यसरी नै थारु कल्याणकारी सभा थारु हकहितको विषयमा पन्छीदै जाने हो भने आम थारु जनसमुदायको त्यसको विकल्प खोज्नु पर्ने अवस्था समेत आउन सक्दछ । तर पुरानो संस्था भएकाले नेतृत्व र प्रवृति फेरेर यही थारु कल्याणकारी सभालाई नै थारुहरुको हकहितको सवालमा चलायमान वनाउन सकियो भने अझै राम्रो हुने विस्वास छ ।
अन्त्यमा राष्ट्रिय थारु कलाकार मञ्चले कला र साहित्यको माध्यमबाट निरन्तर रुपमा पहिचानको मुद्धालाई स्थापित गराउने काम गरिरहेको छ र यस पटकको आन्दोलनमा राष्ट्रिय थारु कलाकार मञ्चको सक्रिय सहभागिता रहनुका साथै उक्त आन्दोलनमा सहभागी भइ दिनहुन आम थारु समुदाय र गैर थारु समुदायलाई हार्दिक आव्हान समेत गर्दछु ।
लेखक, राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् ।