दंगीशरण दरबार विकासका लागि ८ करोड ५८ लाख बजेट

दाङ, जेठ १४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित ऐतिहासिक थारु राजा दंगीशरण दरबारको संरक्षण, जीर्णोद्धार तथा निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत रु ८ करोड ५८ लाख ३९ हजार १८० बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि सुरु हुने उक्त योजना तीन वर्षसम्म सञ्चालन हुने जनाइएको छ । थारु समुदायको इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएको दंगीशरण दरबार संरक्षणका लागि बजेट विनियोजन हुनु ऐतिहासिक उपलब्धि भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले बताउनुभयो ।

पश्चिम नेपालमा साक्षरताको ज्योति फैलाउने, सीमान्तकृत समुदायको आर्थिक उन्नयन तथा कमैया प्रथा उन्मूलनमा योगदान पुर्याउने व्यक्तित्वका रूपमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दंगीशरण दरबार संरक्षण तथा विकास योजनाका लागि बजेट विनियोजन गराउन पूर्वमुख्यमन्त्री चौधरी र लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीको विशेष पहल रहेको उल्लेख गर्नुभयो । “वार्षिक नीति तथा कार्यक्रमदेखि बजेट विनियोजनसम्म हाम्रो खबरदारीलाई नजिकबाट समन्वय गर्दै उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो,” चौधरीले भन्नुभयो ।

यसैबीच, दंगीशरण दरबारको संरक्षण र प्रवर्द्धनका लागि आफू निरन्तर लागिरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताउनुभयो । उहाँले दंगीशरण दरबार दाङको ऐतिहासिक धरोहर तथा प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।“थारु राजा दंगीशरण सभ्यता विकासको काम समयमै सम्पन्न गराउन हामी सबै मिलेर अघि बढ्नुपर्छ,” केसीले भन्नुभयो ।

पुरातात्त्विक तथा सांस्कृतिक महत्व बोकेको दंगीशरण दरबारको हालै उत्खननसमेत गरिएको छ । दरबार संरक्षणसँगै यस क्षेत्रलाई सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित