प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले “हामी नेपाली ग्लोबल पोल्याण्ड” ले आगामी जुलाई ११, २०२६ मा पहिलो युरोपस्तरीय ‘नेपाल महोत्सव’ आयोजना गर्ने भएको छ।
पोल्याण्डको ऐतिहासिक सहर पोजननस्थित पर्यटकीय स्थल ‘सेन्ट्रला कल्चर जामेक’, स्विएन्ती मार्सिन ८०/८२ मा आयोजना हुने महोत्सवमा नेपाली कला, संस्कृति, भेषभूषा, खानपिन तथा पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवले युरोपमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा काम गर्नेछ। कार्यक्रममा नेपालका विभिन्न जातजाति तथा समुदायका मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति र भेषभूषा प्रदर्शनी गरिने दाङ निवासी हाल इटालीमा बस्दै आउनुभएको पवन चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै, नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रचारात्मक गतिविधि पनि सञ्चालन गरिने जनाइएको छ। कार्यक्रम व्यवस्थापनका लागि “हामी नेपाली ग्लोबल पोल्याण्ड” का पदाधिकारीहरूले विभिन्न जिम्मेवारी सम्हालेका छन्। संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठ, उपाध्यक्ष सुमन कुमार राई, सल्लाहकार राम कुमार श्रेष्ठ, कोषाध्यक्ष देवेन्द्र कुमार राई तथा युवा संयोजक पवन थारुले महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न तयारी भइरहेको बताउनुभयो ।
आयोजक संस्था “हामी नेपाली ग्लोबल” राजनीति, धर्म, जाति र वर्गभन्दा माथि उठेर नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले क्रियाशील रहेको जनाएको छ। सन् २०२१ मा पोल्याण्डमा दर्ता भएको संस्थाले पहिलो पटक युरोपस्तरीय नेपाल महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवले युरोपमा नेपाली पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास आयोजकको छ। कार्यक्रममा युरोपका विभिन्न देशमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।


