कोरोना भाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा धेरै मानिसहरु डराउन थालेका छन् ।

तर कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्कता अपाउनु आवश्यक हुन्छ ।

कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न कदम चालेको छ । यस्तो बेला सरकारले गरेको निर्णयहरु पालना गर्दै प्रत्यक्ष व्यक्तिले आफू सुरक्षित हुन आवश्यक सावधानीहरु अपनाउनुपर्छ ।

कोरोनाबाट कसरी सुरक्षित रहने त ? केही सतर्कताका उपाय यहाँ उल्लेख गरिएको छ–

नियमित हात धुने

कोरोना भाइरसबाट बच्ने एउटा उपाय नियमितरुपमा हात धुनु हो । मानिसले विभिन्न सम्पर्कको माध्यमबाट हातमा भाइरसका जीवाणु सारेको हुन सक्छ ।जस्तो कि कसैसँग हात मिलाउँदा, कोरोनाको जीवाणु भएको ढोकाको ह्याण्डल वा कुनै सतहमा छुँदा भाइरसहरु हातमा सर्छन् ।

हात नधोई अनुहारमा छुँदा उक्त भाइरस हाम्रो शरीरमा प्रवेश गर्छन् र त्यसबाट संक्रमण फैलिन्छ । त्यसबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ । यसले भाइरसको संक्रमणबाट बचाउन सहयोग गर्छ ।

घर बाहिर ननिस्किने

कोरोना भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट पनि सर्न सक्ने विभिन्न अध्ययनले देखाइसकेका छन् । कुन मानिसलाई भाइरसको संक्रमण छ भन्ने बाहिरबाट हेरेर थाहा हुँदैन । त्यसैले घरबाहिर निस्किँदा भाइरस आफ्नो शरीरमा प्रवेश गर्ने जोखिम बढी हुन्छ ।

सकेसम्म घरमा नै बस्दा भाइरसबाट बच्न सकिन्छ । बाहिर निस्किनै पर्ने अवस्था आए यथेष्ट सावधानी अपनाउनुपर्छ । भाइरस रोक्ने खालका कपडा र मास्क अनिवार्य लगाउनुपर्छ । अनावश्यक भीडभाडबाट टाढै बस्नुपर्छ भने बाटोमा हिँड्दा पनि अर्को मानिससँग केही दूरी कायम राख्नु राम्रो हुन्छ ।

सार्वजनिक स्वास्थ्य सुझावको पालना

कोरोना भाइरसबाट बच्ने एक महत्वपूर्ण उपाय स्थानीय स्वास्थ सुझावको पालना गर्नु हो । स्थानीय स्तरमा भाइरसको प्रकोप वा जोखिम कत्तिको छ भन्ने आधारमा स्थानीय स्वास्थ्य निकायले सुझाव दिने गर्छ ।

त्यसैले उक्त निकायले दिएको सुझावलाई अनिवार्य रुपमा पालना गर्नाले कोरोना भाइरसबाट बच्न सकिन्छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले सकेसम्म घरमा नै बस्न सुझाव दिइसकेको छ ।

प्रतिरक्षा क्षमता बढाउने

कुनै पनि रोगसँग लड्न मानिसको प्रतिरक्षा क्षमता निकै महत्वपूर्ण हुन्छ । कोरोना भाइरसले पनि कमजोर प्रतिरक्षा क्षमता भएका मानिसलाई आक्रमण गर्छ ।

त्यसैले यो रोगबाट बच्न आफ्नो प्रतिरक्षा क्षमता बढाउनु आवश्यक छ । त्यसको लागि आफ्नो आनिबानीमा ध्यान दिनुपर्छ । स्वस्थ खाना र स्वस्थ बानीले पनि मानिसको प्रतिरक्षा क्षमता बढाउँछ ।

शान्त रहने प्रयास

कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।

यो एउटा कमजोर भाइरस हो । यो भाइरसको संक्रमण भएको खण्डमा पनि आफ्नो स्वास्थ्यको राम्रो स्याहार गरेको खण्डमा निको हुन्छ ।

विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । त्यसैले यो भाइरससँग धेरै डराउनुभन्दा पनि सावधानी अपनाउनु जरुरी हुन्छ ।

अनलाइन खबरबाट साभार

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित