साझा सभाहल बनाउन जुटे थारू अगुवा महटावाहरु, सांसद केसीद्वारा ३० लाख सहयोग गर्ने प्रतिबद्धता

तुलसीपुर,९ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको नमुना भुँइह्यार थान प्राङ्गणमा थारु समुदायको साझा सभाहल बनाउन विभिन्न गाउँका अगुवा,महटावा लगायत विभिन्न व्यक्तिहरु लागि परेका छन्।
नमुना भुँइह्यार थान समितीको आयोजनामा शनिबार भएको सभाहल निर्माणका लागि छलफल एवं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नेवक्ताहरुले तुलसीपुर क्षेत्रमा थारू समुदायको पहिचान र संस्कृति झल्किने नमुना सांस्कृतिक सभा हल निर्माण गर्न आवस्यक रहेको विषयमा जोड दिए। उनीहरुले थारुहरुको पहिचान भनेकै भुँइह्यार थान भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नमुना भुँइह्यार थान समितीका अध्यक्ष रामशरण चौधरीले तुलसीपुर क्षेत्रमा थारुहरुको पहिचान झल्किने थारु घर नभएको र साझा सभाहल नहुँदा थारुहरुको कुनै कार्यक्रम, सभा वा गोष्ठी गर्दा हलको समस्या भएकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले साझा सभाहल निर्माण गर्न लागिएको बताउनु भयो।
थारुहरुको साझा सभा हल निर्माण गर्ने योजना सहितको छलफलमा बोल्ने विभिन्न गाउँका महटवा तथा थारु अगुवाहरुले उक्त सभाहल निर्माणका लागि व्यक्तिगत तथा सामूहिक रुपमा आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त सभाहल निर्माणका लागि नमुना भुँइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले रु.५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै अन्य करिब २५ गाउँका महटवाहरुले पनि प्रतिबद्धता जनाएका छन् भने अन्य गाउँका महटवाहरुले पनि प्रतिबद्धता जनाउने क्रम जारी राखेको उहाँले बताउनु भयो। समग्र थारुहरुको साझा सभाहल निर्माण हुने भएकाले तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने सबै गाउँबाट आर्थिक रुपमा सहयोग गर्न पनि अध्यक्ष चौधरीले सबैमा आग्रह गर्नु भयो ।
करिब ६० लाख लागतमा ५ सयभन्दा बढी सहभागी क्षमता रहनेगरि सभाहल निर्माण गरिने गरी छलफल भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

आगामी मंसिरदेखि सभाहलको निर्माण सुरु गर्ने गरी आफूहरु लागिरहेको चौधरीले बताउनु भयो ।
सभाहल निर्माणका लागि संघीय सांसद माननिय हिराचन्द्र केसीले करिब ३० लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ। सांसद केसीको प्रतिबद्धता पछि आफ्नो हौसला अझै बढेको र सभा हल निर्माणका लागि आफूहरु तत्परताका साथ लागिपरेको परेको समितिका अध्यक्ष चौधरी बताउनु भयो ।

नमुना भुइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रोहित थारु, महटावा छोटीलाल थारु, बुझौना थारु, गजेन्द्र बहादुर चौधरी लगायतले बोल्नु भएको थियो ।
यस्तै सोही कार्यक्रममा नमुना भुँइह्यार थान समिति तुलसीपुरले स्थापना कालदेखि गर्दै आएको गतिविधिका बारेमा प्रगतिप्रतिवेदन समेत प्रस्तुत समितिका अध्यक्ष रामशरण चौधरीले प्रस्तुत गर्नु भएको थियो । विभिन्न गाउँका महटवा र थारु अगुवाहरु गरी करिब ५० जनाको सहभागिता रहेका छलफल कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गर्नुभएको थियो ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित