पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा इतर पक्षका नेता-कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा सभापति रहेको आधिकारिक कांग्रेसका नेताहरू पनि देखिए । विमानस्थलमा सुरक्षा तैनाथि कडा पारिएको थियो ।

विमानस्थलमा स्वागत पश्चात देउवाको ‘रोड शो’ सुरू भयो । देउवाले कारको सनरुफबाट आधा जीउ निकालेर समर्थकलाई हात हल्लाउँदै विमानस्थलबाट प्रस्थान गरेका छन् । उनलाई सयौँ कार्यकर्ताले पछ्याइरहेका छन् । यो दृष्यले केही समयअघि पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा गरिएको स्वागतलाई सम्झाएको छ । यद्यपि त्यसबेलाको भीडको तुलनामा आज एक छेउ पनि छैन । देउवालाई कार्यकर्ताले स्कर्टिङ गरेर महाराजगञ्जस्थित उनको अस्थाइ निवासतिर लगेका छन् । देउवाको बूढानीलकण्ठस्थित निवास जेन-जी आन्दोलनका क्रममा ध्वस्त पारिएको थियो । त्यसक्रममा देउवा दम्पती पनि घाइते भएका थिए ।


