लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् ।
शुक्रबार घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताएका हुन् । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको र निजामती सेवामा प्रवेश गर्न आह्वान गरे ।
‘प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ, अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं, उनले भने–थारु समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको छ । युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि अघि बढ्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारु लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाको रुपमा सम्बोधन गर्छौं’उनले भने–‘थारु समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकोको छ ।’ थारु समुदायको कला, संस्कृतिको प्रबद्र्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए ।
‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान’ भन्ने मुख्य नारासहित आयोजना गरिएकोे महोत्सवमा थारु कल्याणकारीणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनुपर्ने, थारु समुदायको मतहवा परम्परालाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।
थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएकोे महोत्सव उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मटावाँ महासंघका चन्द्रप्रकाश चौधरी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
दुइदिने महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।