१७ लाई मेयर कपको उपाधि

जे एन सागर

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ ले पहिलो पटक मेयर कप फूटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ ।

दर्शकले खचाखच भरिएको घोराहीको नवलपुर फूटवल मैदानमा रोचक खेल पस्किएर पनि वडा नं. १०, वडा नं. १७ सामु टिक्नै सकेन । बल आफ्नो कब्जामा राखेर पनि पोष्ट जोगाउन नसक्दा पहिलो हापको ३१ औं मिनेटमा गोल खाएको वडा नं. १० ले दोस्रो हापको २२ औं मिनेटमा गोल गर्दै टिमलाई १÷१ को बराबरी गरेर समर्थकलाई हर्षित त बनायो तर त्यो हर्ष पनि धेरै बेर टिकेन । निर्धारित ९० मिनेटको समयमा बराबरी गोल भएपछि अतिरिक्त समयको सदुपयोग गर्दै वडा नं. १७ ले निर्धारित समय सकिन २ मिनेट अगावै निर्णायक गोल गर्दै वडा नं. १० लाई स्तव्ध बनायो र उपाधि आफ्नो पोल्टामा पा¥यो ।

बल धेरै आफ्नै पक्षमा राखेर पोष्ट प्रहार गर्न नसक्ने वडा नं. १० को कमजोरी बुझेको वडा नं. १७ ले थोरै पाएको अवसरलाई अधिकतम सदुपयोग गर्दै नतिजा निकाल्न सफल भएको हो । त्यसका लागि वडा नं. १७ का जर्सी नं. ७ का युवराज रानाले बललाई पहिलो पोष्ट चुमाए भने जवाफी गोल गर्दै वडा नं. १० का जर्सी नं. ८ का दिपेश पुनले खेल बराबरी गरे तर अन्तिम समयमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै वडा नं. १७ का सुजल बस्नेतले बललाई जालीमात्रै चुमाएनन् टिमलाई यो वर्षको मेयर कप विजेता बनाए ।

पहिलो पटक मेयर कप उपाधि जितेको घोराही उपमहानगपालिका वडा नं. १७ ले नगद एक लाख, कप, मेडल र प्रमाणपत्र पायो भने उपविजेता घोराही–१० ले नगद ५० हजार मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वडा नं. १७ का बिक्रम बिक घोषित भए भने सर्वोत्कृष्ट मिडफिल्डर वडा नं. १० का दिपेश पुन, उत्कृष्ट डिफेन्डर वडा नं. १७ का सुजल बस्नेत, उत्कृष्ट गोलरक्षक वडा नं. १७ का दिवान घर्ती मगर, उत्कृष्ट कोच वडा नं. १७ कै जोसेफ रोका, उत्कृष्ट टिम म्यानेजर वडा नं. १७ कै भोला घर्ती र उत्कृष्ट स्वास्थ्यकर्मी पनि वडा नं. १७ कै भीमबहादुर चौधरी घोषित हुनुभयो । साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता वडा नं. ७ का नवीन चौधरी (आठ गोल) लाई पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो । प्रतियोगिताको अनुशासित टीम वडा नं. ३ घोषित भएको छ ।

पुस २० गतेदेखि शुरु भएको मेयरकप फूटवल प्रतियोगिता २०८० मा घोराहीका १९ वटा वडाको सहभागिता थियो । विजेता घोराही–१७ ले लिगचरणको खेलमा वडा नं. १२ लाई २–१, वडा नं. १ लाई ४–१, वडा नं. ३ लाई ४–० र वडा नं. १९ लाई २–० गोल अन्तरले हराएको थियो भने क्वाटर फाइनल खेलमा वडा नं. १८ लाई पेनाल्टीमा ४–३, सेमिफाइनलमा साविक विजेता वडा नं. १३ लाई पेनाल्टीमा ३–२ गोल अन्तरले हराएको थियो । यस्तै उपविजेता घोराही–१० ले लिगचरणको खेलमा वडा नं. ११ लाई ७–२, वडा नं. ८ लाई ४–०, वडा नं. ५ लाई पनि ४–० ले जित निकालेको थियो भने वडा नं. १६ सँग गोलरहित बराबरी खेलेको थियो । क्वाटर फाइनलमा वडा नं. १४ लाई २–१ गोल अन्तरले हरायो भने वडा नं. ३ को आत्मघाती गोलको मद्दतले वडा नं. १० १–० गोल अन्तरले फाइनलको यात्रा तय गरेको थियो ।

मेयरकप जित्ने वडा

२०७५ सालदेखि शुरु भएको घोराही उपमहानगरपालिकास्तरीय मेयरकप फूटवलको पहिलो उपाधि वडा नं. १५ ले जितेको थियो । त्यसपछि २०७६ वडा नं. १३, २०७७ र ७८ मा लगातार दुईपटक वडा नं. १८ ले उपाधि कब्जा ग¥यो । कप कब्जा हुनबाट रोक्दै वडा नं. १३ ले पुनः २०७९ मा उपाधि खोस्यो भने २०८० को उपाधि नयाँ टिम वडा नं. १७ ले हात पारेको छ । ‘मेयरकपको छैठौं संस्करणसम्म आइपुग्दा मेयर कप फूटवलमा १९ वटै वडाका टिमले सुधारिएको प्रदर्शन गरेका छन् । हिजो जस्तो थियो आज सबै वडाका टिम धेरै सक्षम भइसकेका छन्’– घोराही उपमहानगरपालिका खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनले भन्नुभयो– ‘मेयर कप फूटवल जिल्लाकै उत्कृष्ट र हेर्नलायक प्रतियोगिताको रुपमा स्थापित हुँदैछ ।’ उहाँले निकट भविष्यमै हुन लागेको पालिकास्तरीय गोल्ड कप फूटवल प्रतियोगिताका लागि घोराहीको टिमका रुपमा यिनै १९ वटा टिमबाट नामावली छनौट गरी सार्वजनिक गरिने जानकारी दिनुभयो ।

नयाँ युगबोध बाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित