लुम्बिनीमा मुख्यमन्त्रीको दाबी गर्न सात दिनको समय

 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सात दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशमा पनि कुनै दलले बहुमत प्राप्त गर्न सकेको छैन।

प्रदेश सभामा बहुमत प्राप्त गर्ने दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्था गरिएको छ। यस अनुसार, सरकार गठन नहुने भएपछि प्रदेश प्रमुख शेरचनले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन्।

यसका लागि पुस २७ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ।

अहिले नेकपा एमाले का २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ९, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक पार्टीका तीन-तीन तथा राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक सांसद छन्। त्यस्तै, दुई जना स्वतन्त्र सांसद छन्।
हिमाल खबरबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित