गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो सदन प्रथम भएको छ ।
रातो सदनले २१ स्वर्ण, ११ रजत, १२ कास्यसहित ४४ पदकका साथ विजेता बनेको स्कुलका प्रिन्सिपल मानसिंह घर्तीले बताए । उनका अनुसार निलोे सदन ८ स्वर्ण, १४ रजत, १० कास्यसहित ३२ पदकका साथ दोश्रो भएको छ । यस्तै हरियो सदन पनि ७ स्वर्ण, ८ रजत र ११ कास्यसहित २६ पदकका साथ तेश्रो भयो भने पहेँलो सदन ६ स्वर्ण, ९ रजत र ११ कास्यसहित २६ पदकका साथ चौथो भएको छ ।
अन्तर सदनात्मक एथ्लेटिक्स खेलको समापन तथा पुरस्कार वितरण गोर्खा ग्रुप तथा गोरखा स्कुल घोराहीका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीको प्रमुख आतिथ्यतामा भएको हो । विद्यार्थीहरुले शैक्षिक कृयाकलापसँगै अतिरिक्त कृयाकलापले आफुहरुको शिक्षण सिकाईमा निकै लाभ मिल्ने बताएका थिए ।
सो अवसरमा, गोर्खा ग्रुपका संस्थापक उपाध्यक्ष विष्णुप्रसाद बुढा, संस्थापक संचालक बालाकृष्ण रोका, जंगबहादुर पुन, संस्थापक प्रिन्सिपल लोकबहादुर थापा, गोर्खा ग्रुपका सिईओ नवलसिंह जिएम, एकेडेमीक निर्देशक दुर्गाबहादुर केसीलगायतको उपस्थिती रहेको थियो । विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक थम्मन बस्नेत, शोभाकर पन्थीले गरेकाथिए । घोराहीमा रहेको गोरखा माविमा २ हजार ८ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।
यस्तै पुस १६ गते शनिबार बिहान ८ बजेपछि रजत जयन्तीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल घर्ती जानकारी दिएकाछन् । घोराहीसँगै हाल जिल्लाको तुलसीपुर, लमही, लालमटियामा पनि शाखा स्थापना गरी शैक्षिक गतिविधि संचालन गर्दै आएको गोरखा ग्रुपले घोराहीमा यही पुस १७ गते भव्य समारोहका बीच २५ औँ वार्षिकोत्सव एवम् रजत जयन्ती मनाउने तयारी भएको विद्यालयका उनले बताए ।
त्यसैगरी लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ । लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ ।