२० दिनभित्र राजवन्दीलाई रिहाई नगरे अब देशमा गृह युद्ध : थारु

काठमाडौं, ८ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले २० दिनभित्र प्रतिनीधि सभा सदस्य रेशम चौधरी सहित ११ जनालाई रिहाइ नगरे अब सरकारविरुद्ध गृह युद्ध गर्ने सरकारलाई चेतावानी दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाका अध्यक्ष थारुले सोझा र इमान्दारिताको बदलामा सांसदसहित थारुहरुलाई विनाकारण काराबास जीवन जिउन बाध्यपार्नु दुर्भाग्यपूर्ण भएको भन्दै विनाशर्तसहित रिहाईको माग गर्दै दवावमुलक कार्यक्रमको घोषणा गरेका हुन् । उनले आन्दोलनमा जानुअघि सरकार र राजनीतिक दलका नेताहरुसँग भेटेर आफुहरुको मागको सम्बोधनका लागि पहल गर्ने तर सम्बोधन नभए आगामी फागुन १ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेकाथिए । त्यसैगरि पत्रकार सम्मेलनमा राजबन्दी रिहाईसहित अहिलेको संविधान संशोधन, थरुहट प्रदेशको सुनिश्चित्ता, लोकसेवामा थारुसहित आदिबासी जनजातिको जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतको माग मोर्चाले अघि सारेको उनले बताए ।

थरुहट आन्दोलन थारुले गरेको मात्र देखिएतापनि यो आन्दोलनलाई सबै आदिबासी जनजातिको साथ, समर्थन र ऐक्यवद्धता रहेको संयोजक थारुले बताए। टीकापुर घटनापछि गठित विभिन्न आयोग र समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक नगरी थारुको सूचनाको हक हनन भएको भन्दै उनले तत्काले सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकाथिए।
मोर्चाका प्रवक्ता मिनराज थारुकाअनुसार माघ १४ गते प्रधानमन्त्री सहित सत्तापक्ष र प्रतिपक्षीदलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, १८ गते कैलालीको धनगढीमा बृहत कार्यक्रमको आयोजना गर्ने, २४ गते कुटनीतिक नियोग तथा मानवअधिकार आयोगलाई संघर्षको कार्यक्रमबारे जानकारी गराउने, २५ गते पहिचान पक्षधरहरुसँग काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, फागुन १ गते कैलालीको धनगढीबाट सामुहिक आमरण अनसनको थालनी गर्ने, फागुन २ गते धनगढीबाट विरोध प्रदर्शन गर्ने, फागुन ५ गते पत्रकार सम्मेलन मार्फत तीन दिने आमहडताल घोषणा गर्ने र तीन दिनको बन्द पश्चात् पनि माग सुनुवाई नभए लगत्तै अनिश्चित्कालिन बन्द घोषणा गर्ने संघर्षको कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित