दिवंगत बुवा–आमाको स्मृतिमा ५० हजारको अक्षयकोष स्थापना

दाङ, २५ भदौं । लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक एवं भिक्टोरिया कलेजका प्रमुख तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका पूर्वसहायक क्याम्पस प्रमुख केबी चौधरीले आफ्ना दिवंगत बुवा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ।

चौधरीले आमाको सुद्वारी (पुण्यतिथि) का अवसरमा घोराही उपमहानगरपालिका–१७ स्थित गुलर्या टोल विकास संस्थाका अध्यक्ष अशोक चौधरीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो। सोही रकमबाट दिवंगत आमा विजन्ती चौधरी र बुवा जिराखु चौधरीको स्मृतिमा ‘विजन्ती–जिराखु चौधरी स्मृति पुरस्कार’ स्थापना गरिएको हो। अक्षयकोषमार्फत हरेक वर्ष एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्य राखिएको छ। चौधरीले आगामी वर्षमा अक्षयकोषको रकम थप गर्दै लैजाने बताउनुभएको छ।

चौधरीका बुवा जिराखु चौधरीको २०५५ सालमा निधन भएको थियो भने आमा विजन्ती चौधरीको २०८३ भदौ २० गते ८९ वर्षको उमेरमा निधन भएको हो।
जिराखु र विजन्तीका तीन छोरा र तीन छोरीमध्ये जेठा छोरा छपिलाल चौधरी, माइला छोरा प्रकाश चौधरी र कान्छा छोरा केबी चौधरी हुनुहुन्छ। माइला छोरा प्रकाश चौधरीको भने निधन भइसकेको छ। छोरीहरूमा बसन्ती चौधरी, बुद्धन चौधरी र सीता चौधरी हुनुहुन्छ।

आफ्ना दिवंगत बुवा–आमाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै चौधरीले स्थापना गर्नुभएको अक्षयकोषले स्थानीय विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित