परिचय :
नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन गरिएको पाइन्छ । नेपालमा सूचीकृत आदिवासी जनजातिहरुको संख्या ६० र बोलिने मातृ भाषाको संख्या १२५ पुगेको छ (आदिवासी जनजाति समुदायको थर सूचिकरण प्रतिवेदन २०८०) ।

नेपालमा बोलिने भाषाहरु लाई उत्पत्ति र विशेषताका आधारमा थारू आदिवासीहरु भारोपेली भाषा परिवारभित्र पर्दछन । थारूहरु नेपालमा पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुरसम्म फैलिएर रहेका छन् । भित्री तराइ फाँटहरु जस्तै दाङ, उदयपुर, सुर्खेत, चितवन, मकवानपुर मा रहेको पाइन्छ । नेपालमा थारूहरुको कुल जनसंख्या १८ लाख ७ हजार १२४ रहेको छ (राष्ट्रिय जनगणना २०७८) ।
नेपालमा थारू समुदायको थर र उपथरहरु झण्डै २५० भन्दा बढी पाइन्छ । दाङ जिल्लामा मात्र थारूहरुको थर र उपथर १४५ भन्दा धेरै छ (थारू आयोग २०७७ – थारू समुदायको थारू सुचिरकण गोष्ठी मस्यौदा पत्र)। यसरी थारू आदिवासी भूमिपुत्रहरुको थर उपथर अनुसारको आफ्नै खाले वैभब चाडपर्व, संस्कृति, र संस्कारहरु रहेको पाइन्छ । नेपालको पश्चिम समथर भुभागमा रहेको थारूहरु महत्पूर्र्ण मौलिक चाडपर्व, संस्कृति र संस्कारहरु रहेकाछन । विविध मौलिक चाडपर्व मध्ये केही थारू समुदायको मौलिक चाडपर्वमा गुरहि अर्थात् गुरिया पर्व पनि एक हो ।
के हो गुरहि पर्व ?
गुरहि थारूहरुको मौलिक पर्व हो । यो पर्व पश्चिम नेपाल को दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेका विशेषगरी रंङ्गिविरङ्गी लेहंगा लगाउने थारू समुहका महिलाहरुले धुमधामसंग मनाउने गर्दछन । अर्काे अर्थमा भन्नुपर्दा सेतो गुन्यु र चोल्या वा डैनाहा झुल्वा लगाउने थारू समुहका महिलाहरु यो पर्व मनाउदैनन् ।
यो गुरहि पर्व प्रत्येक वर्ष नाँग पंचमीको दिन साँझमा सम्पन्न गरिन्छ । गुरहि पर्व अर्थात गुरहि पुजालाई गुरहि अस्रैना (सेलाउने) पनि भन्ने गरिन्छ । यो पर्व परापूर्वकाल देखि मनाउँदै आएको पाइन्छ ।
किन गुरहि पूजा गरिन्छ ?
भाद्र महिना वर्षातको समय हो । यो अवधिमा खेततिर हरियाली हुन्छ । वनजंगल पनि हरियो रहेको हुन्छ । खेतमा धानबाली हराभरा रहेकोले किरा फट्याङ्ग्रा वाट धानबाली नष्ट हुने बढी सम्भावना रहन्छ । त्यसैले धानबालीलाई किरा फट्याङ्ग्राबाट जोगाउनको लागि रङ्गिविरङ्गी कपडाको टुक्रबाट गुरहि किराको स्वरुप बनाएर भगाउने अर्थात अस्राउने गरिन्छ । गुरहि किरालाई दाङतिर चिंगौरा भनिन्छ । गुरहि किरालाई अस्राउने अर्थात धपाएर भगाएमा धान बालीलाई जोगाउन सकिन्छ अर्थात धान बालीको उत्पादनमा बृद्धि ल्याउन सकिने मौलिक आस्था र विश्वास छ ।

कसरी गुरहि पूजा/पर्व मनाइन्छ अर्थात् अस्राउने गरिन्छ ?
गुरहि पूजा गर्नका लागि साझा ठाउँ अर्थात सार्वजनिक चौबाटो (चौराह)लाई सुनिश्चित गर्ने गरेको पाइन्छ ।
साँझा स्थान अर्थात गाउँको दक्षिणतिर चौबाटो सुनिश्चित भएमा सवैलाई सोही बमोजिम निमन्त्रणा र जानकारी दिने गरिन्छ ।
आफ्नो गाउँ ठाउँमा नाम कमाएका गुरुवा लाई विशेष निमन्त्रणा दिने गरिन्छ । किनकी गुरुवाहरु (देशबन्ध्या वा कसौका) बाट यो गुरहि पूजा सम्पन्न गर्ने अर्थात् अस्राउने कार्यमा महत्वपूर्ण भूमिका हुने गर्दछ ।
विशेषतः गुरहि पूजा गर्ने अर्थात अस्राउने कार्यमा अविवाहित बालक वा बालिकाद्धारा गरिन्छ । बालिकाहरुले गुरहिलाई विसर्जन गर्ने र बालकहरुले तयारी सोटाले हानेर पिट्ने गरिन्छ ।
गुरहि पूजा गर्दा अर्थात् अस्राउने बेलामा मौलिक नाच नाच्ने तथा गीत गाउने चलन र अभ्यास हुदैन । तथापि “भुंग्री देउ भुंग्री देउ” भन्दै गीत गाएर गुरहिलाई अस्राउने गरिन्छ । भुंग्रीको अर्थ चना वा मकैबाट बनेको प्रसादको परिकारको स्थानीय नामलार्ई जनाउँदछ । भुंग्री नामक प्रसाद प्रत्येकले आआफ्ने घरबाट गुरहि अस्राउने स्थानमा लगेका हुन्छन ।
गुरुवाले गुरहि अस्राउने स्थलमा चोखो जल र चोखो मद (रक्सी) ले छाँकी बुंदी दिएर सम्पन्न गर्ने गर्दछन । छाँकीबुंदी दिदा हरियो सालको पातको डुनिमा दिने मौलिक चलन छ । अन्तमा छाँकीबुंदी दिइसकेपछि चना र मकैबाट बनेको प्रसाद सवै उपस्थित गुरहि भक्तालुहरुले बाँडेर ज्यूनार गर्ने चलन छ ।
गुरहि अस्राउने पर्वको अर्काे महत्वपूर्ण महिमा भनेको धानबालीको लागी आवश्यक प्रयाप्त मात्रामा सिचाई गर्ने हो । धानबालीको लागी प्रयाप्त मात्रमा चाहिने सिचाई अर्थात बर्षा नभएको बेलामा इन्द्र भगवानलाई सन्देश दिएर बालिनाली सपार्नलाई प्रयाप्त बर्षात गराउनका लागी विन्ति गर्ने गरेको आस्था र विश्वास पनि छ ।
गुरहि पर्वको मौलिक विशेषता :
गुरहि पर्वको आफ्नै मौलिक विशेषता छन् । यो पर्वले व्यक्ति समुदाय विच मातृत्व र सद्भावना कायम गर्नमा बल दिन्छ ।
गुरहि पर्वले मनोरञ्जन दिने गर्दछ । विशेषतः बालबालिकाहरु यो पर्वको मुख्य पात्र हुनाले बालबालिकाहरुले मनोरञ्जनका साथै संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्नमा महत्वपूर्ण भूमिका रहने गरेको पाइन्छ ।
गुरहि पूजा अस्राउने कार्य घर परिवारमा नभएर सामुहिक रुपमा चौबाटोमा हुने भएकोले अन्य समुदायले पनि मनोरञ्जनको रुपमा दृश्यवलोकन गर्ने अवसर रहेको पाइन्छ । जसले गर्दा एक समुदायको मौलिक संस्कृति अर्को समुदायले पनि अवलोकन गर्ने सक्ने भयो ।
गुरहि अस्राउने कार्यले थारू समुदायको ऐतिहासिक, मौलिक सभ्यता र परम्परालाई जीवन्त राखेर थारूहरुको पहिचानलाइ उजागर गरेको पाइन्छ ।
गुरहि पर्वले सुख शान्ती, भाइचार र ्रभातृत्वलाई जुगजुगसम्म कायम रहोस भन्ने विश्वास रहेको छ ।
थारूहरु प्रकृति पूजक रहेकोले प्रकृति प्रति आस्था, विश्वास र सम्मान साथै सामाजिक एकताको प्रतीकको रुपमा यो पर्व मनाउने गरिन्छ ।
गुरहि पर्व अर्थात् गुरहि अस्राउने मौलिकतामा चुनौती :
गुरहि पर्व गाउँहरुको चौवाटोमा सामूहिक रुपमा मनाउने चलन भएपनि आजभोलि को आधुनिकीकरणका कारणले यसले शहर बजारको पार्टी प्यालेसहरुमा पनि मनाउन शुरुवाट भएको छ । यसरी हेर्दा मौलिकता भन्दा पनि आधुनिकताको प्रभावले नाच गान बजान र खानपिनले प्रभाव पारेर खर्चिलो र भड्कीलो गुरहि पर्व हुदै गएको छ ।
खासमा गुरहि पर्वमा “भुंग्री” एक मौलिक प्रसाद रहेको र सवैले सामुहिक रुपमा जिउनार गर्ने अभ्यास र चलन रहेपनि आधुनिक अभ्यासले गुरहिको पर्वको अघिल्लो दिन सुंगुर/बंगुरको जिता मार्ने र माछा, मासुको जोहो गर्ने भएकाले खर्चमा वृद्धि भएको पाइन्छ । यसरी साधारण गरिब परिवारमा खर्चको बढोत्तरीले चूनौतिमा थप भएको पाइन्छ ।
गाउँले परिवेशबाट पर्वलाई गुरहि पर्वलाई शहरीमुखी अभ्यासको आकर्षणले मौलिकता भन्दा बाहिरको नाच, गान र कलाकारको व्यवस्थापनले खर्चिलो गुरहि पर्वमा रुपान्तरण भएर चूनौति थपिदै गएको छ ।
निष्कर्ष :थारू आदिवासीहरुको पर्व गुरहि अस्राउने एक ऐतिहासिक र मौलिक पर्व हो । यो पर्व परापूर्वकालदेखि नै मनाउँदै आएको जनविश्वास छ । यो पर्व विशेषगरी भाद्र महिनाको नांग पञ्चमीको साँझ गाउँको दक्षिणतिरको चौबाटोमा सामुहिक रुपमा मनाइन्छ । धान खेतीलाई किरा फट्याङ्ग्रा र रोग ब्याधाबाट संरक्षण गर्न गुरहि अस्राउने आस्था र विश्वास छ । किराको प्रतिकको रुपमा (चिंगौरा किरा) लाई रंङ्गिन कपडाको टुक्राबाट बनाएर बालिकाले अस्राउने र बालकले सोताले धपाउने अर्थात भगाउने कार्यले बालिनालीमा किरा नलागोस भनेर किरा भगाउने जनविश्वास छ । गुरहि पर्वको आफ्नै मौीलक इतिहास र पम्परा रहेता पनि आधुनिकिरण र शहरीकरणले गुरहिको मौलिकतालाई चूनैति थप्दै गएको छ । अबको युवा पुस्ताले गुरहिको मौलिकतालाई संरक्षण गर्न जरुरी छ । गुरहि अर्थात चिंगौरा किराको आगनमसंगै धानमा लाग्ने किराहरुको नष्ट हुने भएकोले गुरहि अर्थात चिंगौरा किरा भगाएमा धानबाली सुध्रिने जनविश्वास रहको छ ।
(लेखकः थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ)


