परिचयः
विविधताले भरिएको प्राकृतिक सुन्दर देश नेपालमा आवादीवासी भूमिपुत्र थारू समुदायको बसोवास पूर्व झापादेखी पश्चिम कञ्चनपुर जिल्लासम्मको समथर तराईका जिल्लाहरुमा रहेको छ । नेपालको राष्ट्रिय जनगनणा २०७८को अनुसार थारूहरुको कुल जनसंख्या १८ लाख ७ हजार १२४ रहेको छ ।
नेपालको तराई र भित्रि मधेशमा बस्ने थारूहरु विभिन्न समूहमा परिचित छन् । जस्तै कि पूर्वमा मोरंगिया, कोचिला, सप्तरीया, मध्यपूर्व भूभागमा चितवनिया र पश्चिमका समथर भूभागमा डगौरा, देसौरीया, कठरीया र राना थारु रहेका छन् । विशेष तहः पश्चिम तराईका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका भूमिपुत्र थारू समुदायले हरढावा ९हरढुवा० पर्व धुमधामले मनाउने चलन छ ।
खेतीको शुरु गर्दा साइत हेर्ने चलन
आवादीवासी थारू समुदायको आस्था र विश्वास छ र सोही बमोजिम मान्यता राखेर जीवनमा प्रयोग पनि गरेको पाइन्छ । थारु समुदायमा एउटा अख्यान ९कथन० छ, सोमारके खेती– बुधक बेटी, अर्थात थारूहरु कुनै पनि खेतिको सुरुवात सोमवारदेखी शुरु गर्ने र चेलिबेटीलाई विदाइ वा घर भित्र प्रवेश गराउँदा बुधवार पारेर गर्ने चलन छ ।
थारूहरुले धान खेतिको सुरुवात बिया धर्ना अर्थात बिउ राख्ने देखी शुरु हुन्छ । पहिले पहिले धान खेति, बिउलाई नै छरेर खेति गर्ने चलन थियो । विशेषगरी दाङका थारूहरुमा ब्यार राख्ने अभ्यास थिएन । आजभोलि आधुनिक खेति प्रणालीले धान छरेर खेति गर्ने चलन पूर्णरुपमा लोप भइसक्यो । धानको उब्जनी पनि कम भएर होला यो चलन हराएको हुन सक्छ ।
हरढावा (हरढुवा) नाम कसरी रह्यो ?
हरढावा (हरढुवा) पर्वको बारोमा उल्लेख गर्नु पूर्व हरढावा शब्द कसरी बन्न गयो र यसको अर्थ के हुन्छ भनेर जान्न जरुरी हुन्छ । यो पर्वको नाम वास्तममा हरढुवाबाट बोलिचालिमा अपभ्रंस हुदै आएर हरढावा शब्द बनेको मान्न सकिन्छ । थारू भाषामा हलोलाई हर भन्ने चलन छ र ढुवाको अर्थ धुने वा सफा गर्ने हुन्छ । यसरी खेतिपाती सकेपछि प्रकृतिपूजक थारूहरुले हलो लगायत विभिन्न औजारहरुलाई धोएर राख्ने र वर्ष दिनको खाद्यान्नको जोहो हुने आशा र खेति सकेको खुसीयाली मनाउने पर्व भएकोले यसको नाम हरुढुवा अर्थात बोलिचालीमा हरढावा हुन गयो ।
के हो हरढावा (हरढुवा) पर्व ?
पश्चिम नेपालको आवादीवासी भूमीपुत्र थारू समुदायले धुर्या गुरै पुजा पछि शुरु हुने वर्षे खेती (धान खेती) सम्पन्न गरिसके पछि मटावाँ/बरघर/भल्मन्साको नेतृत्वमा गाउँमा बैठक बसी तिथिमितिको तय गरेर सबै गाउँलेहरुले आ–आफ्नो घरमा माछा, मासु लगायत विभिन्न प्रकारका मिठोमसिनो पक्वानको परिकार सहित आफन्त, साथिभाई, चेलीबेटी एकठाउँमा जम्मा भई खानपिन गर्ने र खुसीयाली मनाउने पर्व वा कार्यलाई नै हरढावा (हरढुवा) भनिन्छ ।
थारू किसानहरुले वर्षे खेति अर्थात धान खेतिको अवधिमा निकै कठिन परिश्रम गर्नुपरेको हुन्छ । बिहान भालेको डाँकसँगै उठेर खेतमा गएर जोत्ने, आलि लगाउने, धानको ब्यार उखेल्ने र रोपाई गर्ने गर्दछन् । यो समय अनिकालको समय पनि हो । कुनै कुनै किसानलाई खेतिपातिको समयमा पेटभरी खाना पनि जोहो गर्न गाह्रो हुन्छ । कसैले आधा पेट खाएर पनि वर्षे खेति सम्पन्न गर्ने गर्दछन् । यसरी कठिन परिश्रम गरेर खेतिको अन्तिम सम्ममा खेतको अन्तिम भागमा धान रोपेर अर्थात रोपाई सकिने बेलामा खेतको रोपाईमा संलग्न किसानहरुले एक अर्काकोमा हिलो, माटो छ्याप्दै गीत गाउँने रमाइलो गर्दै धान रोपाई कार्य सम्पन्न गर्ने चलन हुन्छ । यसरी हिलो माटो छ्याप्ने कार्यलाई हिलोरी खेल्ने पनि भनिन्छ ।
विशेषतः खेत जोत्नमा प्रयोग भाएका सरसामाग्रीहरु जस्तै– हलो, जूवा, फरै, फार (फालो), फरह्वा (फरुवा), कुटो, कोदालो, हँसीया, बनचरो, छिट्वा, ड्याला, बन्ठी, छट्री, पैन्हा (लठ्ठी) आदि सफासँग पखालेर एक ठाउँमा राख्ने गर्दछन् । खेत जोत्न प्रयोग भएका रंग्वा (राँगा), बर्धा (गोरु) हरुलाई पनि सफा गर्ने गर्दछन् । खेतमा प्रयोग भएको सामाग्रीहरुलाई खेती कार्य.सम्पन्न गर्न सहयोग गरेकोमा ती औजार र बस्तुभाउ हरुलाई सम्मान, आभार ब्यक्त गर्दछन् र पुजा आजा गर्दछन् । यसरी हलो–जुवा धुने कार्यलाई हरुढुवा अर्थात हरढावा भनिएको हो ।
हरढावा (हरढुवा) पर्व कसरी मनाउने गरिन्छ ?
आवादीवासी थारू गाउँहरुमा प्रत्येक घरको खेति सम्पन्न भएपछि गाउँलेहरुले मटावाँ÷बरघर÷भल्मन्सा को नेतृत्वमा गाउँका सबै घरका घरढुर्याहरुलाई एकठाउँमा जम्मा भएर आपसी सरसल्लाहा गरेर तिथिमिति तय गरेर हरढावा अर्थात हरढुवा मनाउने योजना बनाउँछन ।
बैठकमा प्रत्येक गाउँमा आ–आफ्नो गाउँको प्रत्येक घरको लागि कति धार्नी/पसेरी (२.५ केजी), लम्मर (५ केजी) का दरले मासु खपत हुने बारे हिसाब किताब हुने गर्छ । घरढुर्या वा बरघर्याले आ–आफ्ना परिवारको संख्या र इष्टमित्रहरुको लागि पनि जोहो गर्ने गरी मासुको लागि भाग छुट्याउन मटावाँ/बरघर/भल्मन्सा लाई जानकारी दिने गर्दछन् । मटावाँ/बरघर/भल्मन्साहरुले सोही बमोजिम गाउँमा उपलब्ध बँगुर, खसी, सुँगुरको मासुको व्यबस्था गर्ने गरेका हुन्छन् । कहिले काँही चाहिने जति मासुको जोहो गाउँमा नहुने अवस्था रहेमा सम्बन्धित गाउँको मटावाँ/बरघर/भल्मन्साले गाउँले सबैलाई चित्त बुझ्नेगरी मासुको भाग लगाउने गरेको पाइन्छ । गाउँमा मासु काट्ने र भाग बण्डा लगाएर उठाउने ब्यवस्थाको चलन थारू समुदायमा एक मौलिक, सामुहिक र सहभागितामुलक तथा सु–सभ्ये हुने गर्दछ ।
हरढावा को दिनमा थारू समुदायको प्रत्येक घरमा अन्य मिठो मिठो पकवानहरुको ब्यवस्था हुने गर्दछ । खसीको मासु, बँगुर वा सुँगुरको मासु, लोकल कुखुराको मासु, गेडागुडी, माछा, घोंगी, गंगटा, साग–सब्जी, चट्नी रोटी र पेय पदार्थकोरुपमा मद (रक्सी), जाँडको झोल, छानेको जाँड (अनाजबाट बनेको जाँड) आदिको ब्यवस्था रहेको हुन्छ । आजभोली बहुराष्ट्रिय कम्पनीको ब्राण्डहरु ह्विस्की, बियर, कोक, फेन्टा आदि पनि पेय पदार्थको रुपमा ब्यवस्था गरेको पाइन्छ ।
हरढावा को निमन्त्रणा गाउँमा रहेका इष्टमित्र, साथीभाइलाई बोलाएर खानपिन गर्ने, गराउने चलन छ । आफ्नो चेलीबेटीहरुलाई पनि निमन्त्रणा गरेर घरमा बोलाउने चलन छ । चेलिबेटीहरु वा इष्टमित्रहरु हरढावा मनाउन वा खान जाँदा गोल्रामा जाँड, मदसँगै साग सब्जीसहितको अन्य केही कोसेलीहरु लैजाने चलन छ । हरढावा मा खेतिपाति सकेर धोएको, नयाँ तथा सफा लुगा लगाएर हरधावा मनाउने अर्थात हरढावा खान भेला हुन्छन । हरढावा को दिन इष्टमित्र, साथीभाइ, चेलीबेटी र पाहुनाले गर्दा घर भरीभराउँ भइ चहल पहल हुने गर्दछ । यसरी एक घरबाट अर्को घरमा आलोपालो हरढावा मनाउन जाने हुनाले गाउँमा राति अबेरसम्म चहलपहल हुने गर्दछ ।
समग्रमा हरढावा थारूहरुको एक मौलिक पर्वको रुपमा मनाउने गरिन्छ । वर्षे खेति अर्थात धान खेतिको कार्यमा मेहनत र दुख गरेको श्रम पछिको थकित जीउँमा किसानहरुले नयाँ जोस, सन्तुष्टी र हर्षोल्लास तथा उमंगको अवसरले वर्षे खेतिको दुखाइलाई बिर्सने गर्दछन ।
हरढावा पर्वको मौलिकतामा चुनौती :
आजभोली हरढावा पर्व मनाउने चलन एक वा दुई परिवार भित्र मात्र सिमित हुँँदैछ । कुनै घर परिवारले खेति सकेमा सो परिवारको आफ्नै खुसीले दिन, बार निश्चित गरेर हरढावा मनाउने गरेको पाइन्छ । आफ्नो गाउँको मटावा/बरघर/भल्मन्साको नीति निर्देशनलाई वेवास्ता गर्ने र सामुहिकतालाई छोड्दै गएको अबस्था रहेको छ । सम्पूर्ण गाउँलेले खेति सकेर सामुहिक रुपमा मनाउने हरढावा पर्वमा विचलन आएको छ ।
एकातिर आघुनिकताले हाम्रो खेतिपातिमा प्रयोग हुने सामाग्रीले काममा सरलता ल्याएको छ । जस्तै हलोको ठाउँमा टे«क्टरबाट जोट्ने कार्य राम्रो छ । तर असली खेतिपातिको परम्परागत औजारहरु हलो, जूवा, फार, कुटो, कोदालो, हँसीया, बन्चरो, छिट्वा, बन्ठी, छट्री, पैन्हा (लठ्ठी), सिकहर, भाँँडाकुडा र अन्य कृषि औजारहरु लोप हुँँदै जान थालेका छन् । आधुनिकताले हाम्रो जीवन सरल, सजिलो र काममा प्रभावकारीता ल्याए पनि हाम्रा मौलिक सामानहरु विस्थापित हुँँदैछन् । जसले गर्दा यी मौलिक औजार र वस्तुहरु बनाउने, सिक्ने र प्रचलनमा ल्याउने मौलिक सिप, कलाहरु हराउँदै गएका छन् ।
आधुनिकताले हाम्रो काममा सरलता ल्याएको छ, काम छितो र छरितो भएको छ तर गाइबस्तु पाल्ने चलन हराउँदै गएको छ । जसका कारणले खेतिपातीमा प्रयोग हुने प्राङगारिक मल उत्पादन गर्ने कार्य हराएको छ । प्राङगारिक मलको अभावले माटोको उब्जाउ शक्तिमा ह्रास भएको छ । भने बालिनालिमा विभिन्न रोगको प्रकोप बढ्नाले किटनाशक औषधीको प्रयोग बढेको छ । किटनाशक औषधीको प्रयोगबाट उत्पादित खाद्यान्नले गर्दा मानिसलाई विभिन्न प्राणघातक रोग लाग्ने दरमा वृद्धि भएको देखिन्छ । खेतिपातिको कठिन परिश्रम र मेहनत पश्चात हरढावा पर्वले सबै गाउँलेलाई एकजुट भएर पर्व मनाउने र इष्टमित्र, साथीभाइ तथा चेलिबेटीहरुलाई पनि निमन्त्रणा गर्ने हुनाले यो पर्व भातृत्व भाईचारा तथा चेलिबेटीहरुमा प्रेम बात्सल्यको बरकरार राख्दछ । तर यी सबै संस्कार र संकृतिहरु लोप हुदै गएको हुँदा मानिसमा एकलोपना, स्वार्थीपना बढ्ने र मानसिक समस्या र तनाव बढ्ने गरेको पाइन्छ ।
नेपाल सरकारबाट अपेक्षा (स्थानीय तह, प्रदेश र संघ सरकार):
कृषिमा आधारित अर्थतन्त्र भएको हाम्रो मुलुकमा कृषि उत्पादन बढाउँन र बेरोजगार युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन जरुरी छ । त्यसका लागि सरकारले कृषिमा युवाहरुलाई आकर्षित गराउनको लागि कृर्षिसँग प्रत्यक्ष जोडिएको मुख्यगरी धानखेतिमा आधारित हरधावापर्व अर्थात हरधावासंस्कृतिलाई टेवा दिएर संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । प्रत्येक वर्ष वर्षे खेति अर्थात विशेषगरी धान खेति को लागि रासायनिक मलको प्रयोग गर्ने अभ्यास ब्यापक रुपमा बढेर गएको छ । जसले गर्दा रासायनिक मलले माटोको उर्वरा शक्ति पनि घटाउने र मानव लगायत अन्य जिवजन्तुलाई पनि असर गर्ने भएकोले नेपाल सरकारले प्रांगारिक मल उत्पादन गर्ने प्रविधिलाई प्रोत्साहन र लगानी गर्ने कार्यमा वढावा दिएर यूवा पुस्तालाई कृषि कर्ममा आकर्षण गर्न जरुरी छ ।
युवा पुस्तालाई कृषि क्षेत्रमा प्रयोग हुने औजारहरु हलो, जुवा, सैल, हरिष, हर, फार, पाटी, पैन्हा, नान्धा, बन्ठी, ड्याला, छिट्वा, छट्री, पिस्तुर, फर्ह्वा, इत्यादी मौलिक कृषि औजारहरुको निर्माण र प्रवर्धनको लागि ब्यवस्था गर्न जरुरी छ । यी चिजहरुको निर्माण कार्यले कृषिसँग सम्बन्धित मौलिक सिपको संरक्षण हुने देखिन्छ ।
सारांश वा निष्कर्ष :
यसरी हरढावा पर्व थारू आदिवासी समुदायको एक मौलिक पर्वको रुपमा रहेको छ । विशेषतः प्रकृतिपूजक थारू कृषकहरुले आफ्नो खेतिमा प्रयोग भएका सामाग्रीहरु र जोत्नमा प्रयोग भएका गोरु (बर्ढा), राँगाहरुलाई खेति कार्य सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका खेलेकोले ती खेतिमा प्रयोग भएका औजारहरु र बस्तुभाउँहरुलाई जिवनको अभिन्न अंगको रुपमा लिई सम्मान र आभार व्यक्त गर्ने गर्दछन । र हर (हलो) लगायत खेतिपातिमा प्रयोग भएका सामाग्रीहरु र गाइ, गोरु, राँगा लगायतका बस्तुभाउलाई धुने (सरसफाई) गर्ने हुनाले (हरढावा) हरधुने (हलो धुने) अर्थात हरढावा भन्ने गरेको हो । हरढावा पर्वले गाउँले इष्टमित्र, साथीभाई, चेलीबेटी, साना, ठूला व्यक्तिहरुबीच भातृत्व र आत्मीयतालाई बलियो बनाउनमा मद्दत गरेको पाइन्छ । हरढावामा सबै गाउँलेहरुले मटावा/बरघर/भल्मसन्साको नेतृत्वमा सामुहिक रुपमा एकैदिन एकैसाथ मिठो मसिनो परिकारको साथ जिउनार गर्ने र आफूले गरेको खेतिबाट वर्षदिन खान लगायउन पुग्ने आशा, भरोशा र शुभकामना आदान प्रदान गरेर मनाउने गरिन्छ ।
आजभोली यो पर्व सामुहिकतामा मनाउने चलन हराउँदै गएको छ । यसले गर्दा समुदायमा विचलन र सामुहिकताको भावना, आत्मियताको भाव हराउँदै गएको छ । यान्त्रीकरणको युगले सहजता मात्र ल्याउदैन यसले दिर्घकालिन विनास पनि निम्त्याउछ र यसमा समुदायलाई सचेत गराउन जरुरी छ । थारू समुदायले खेतिमा प्रयोग हुने औजारहरुको प्रयोग र ती औजारहरु बनाउने परम्परागत सीपहरु पनि हराउँदै गएका छन् । यी सिप र औजारहरुलाई आधुनिक औजारहरुले विस्थापित गरिरहेको अवस्था छ । आवादीवासी ज्ञान निर्माण हुने प्रांगारिक मल, जैविक किटनासक औषधीको अभावले जमिनमा अम्लिय पन बढ्ने र उत्पादमा हस हुने गरेको छ । आर्गानिक खेति गर्ने परम्पराको अभाव भएको छ । खेतिवारीमा प्रयोग हुने रासायनिक मल र किटनासक औषधीको प्रगोगले मानव जिवनमा प्राणघाटक रोगको सिकार हुने अवस्था आएको छ । त्यसकारण नयाँ युवा पुस्तालाई यस्ता परम्परागत सीपको हस्तारन्तरण गर्ने योजना बनाई सरकारले किसानलाई आर्गानिक खेतिपाति गर्न प्रोत्साहन गर्नुपर्छ । समुदायमा सामुहिता, सत्भाव र भातृत्वलाई वरकरार गर्ने यस्ता परम्परागत हरढावा जस्ता मौलिक पर्वहरुको जगेर्ना गरिनुपर्छ । (लेखक : थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)
फोनिज स्मारिका २०८३ बाट साभार