माघ सांस्कृतिक महोत्सव तयारी पुरा

थारू समुदायको साझा संस्था थारू कल्याणकारिणी सभा दाङद्वारा भोली पुस १९ गते आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएको छ । घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा  हुन गइरहेको महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा पाँच दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया नाच, ढुम्री गतिको प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । साथै, राष्ट्रिय तथा स्थानीय थारू कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहने उहाँले बताउनुभयो ।

“आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, समाजिक न्याय सहितके समृद्धिम हमार योगदान” भन्ने मुल नारा सहित आयोजना हुन लागेको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू मौलिक भेषभूषासहित थारू संस्कृतिको झाँकीसहित बजार परिक्रमा गर्ने कार्यक्रम समेत तय गरिएको छ । महोत्सवमा उल्लेखनीय सहभागिता जनाइदिन सम्पूर्ण थारू समुदायलाई अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ । उहाँले महोत्सवमा थारू समुदायले आफ्ना मौलिक भेषभूषा तथा पहिचानसहित ढक्या, डेल्वा, भौका, भौकी, हलो, जुवा लगायतका थारू हस्तकलाका सामग्रीहरू लिएर सहभागिता जनाई थारू समुदायको पहिचान र मौलिक संस्कृति झल्काउन अनुरोध गर्नुभएको हो ।

त्यस्तै, एक दिने महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्र माछा लगायतका परिकारहरूको बिक्री तथा वितरण गरिने उहाँले जानकारी दिनुभयो । साथै, थारू समुदायसँग सम्बन्धित ऐतिहासिक, खोजमूलक सामग्री, थारू भाषा, साहित्य र संस्कृतिसम्बन्धी विभिन्न पुस्तकहरूको पनि बिक्री–वितरण गरिनेछ ।

यसैगरी, महोत्सवमा थारू समुदायको परम्परागत हस्तकला सामग्रीहरू हेल्का, डेल्या, गुन्द्री, ढक्या, ढक्ली, ड्वाला, भौका, भौकी, बेर्रा लगायतको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यस्ते महोत्सवको अवसरमा थारू भाषा, कला तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थारू अगुवा तथा संस्कृतिविद्हरूलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित