तीन वर्षमा घोराहीको रूप फेरियोे

नरुलाल चौधरी दाङको घोराही उपमहानगरपालिकाका प्रमुख हुनुहुन्छ । घोराहीको रूप फेर्ने महत्वाकाङ्क्षी प्रतिबद्धताका साथ निर्वाचन लड्नुभएका उहाँसँग निर्वाचन जितेपछि आजसम्म गरेका काम, विकास निर्माण र भावी योजनाका बारेमा पत्ररकार कटीकाबहादुर बस्नेतले गर्नुभएको कुराकानी ।

उपमहानगर पालिकाभित्रका तीन वर्ष कस्ता रहे ?

घोराहीलाई मुलुककै उत्कृष्ट उपमहानगर बनाउने सङ्कल्पका साथ कार्यसम्पादन गर्दै हाम्रा तीन वर्ष बितेका छन् । मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमका सामु धेरै चुनौती र अवसर थिए । हामीले चुनौतीभन्दा पनि अवसरलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आइरहेका छौँ ।

कार्यकालका मुख्य उपलब्धि के–के हुन् ?

तीन वर्षमा हामीले घोराहीको रूप फेरेका छौँ । हामीले १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ । १९ वटै वडामा वडा कार्यालय स्थापना गरेका छौँ । अहिले सबै वडामा त्यहीँबाट सेवा सञ्चालन भइरहेको छ । जलाशय निर्माणको क्षेत्रमा पनि हामीले नमुनायोग्य काम गरेका छौँ । अहिलेसम्म २५ वटा जलाशय निर्माण भइसकेका छन् ।
सबै वडा जोड्ने सडक कालोपत्रे भइसकेका छन् । उपमहानगरपालिका क्षेत्रमा पर्ने विभिन्न ठूला सडकको ट्र्याक खुल्ने काम भएको छ । अहिले गाउँ क्षेत्रका मुख्य सडक पनि हामीले धमाधम कालोपत्रे गरिरहेका छौँ । अन्य धेरै सडक कालोपत्रेको प्रक्रियामा छन् ।
सहज सघन सहरी सडक अन्तर्गतका सबै आयोजना यो आर्थिक वर्षभित्र सम्पन्न भइसक्नेछन् । बजार क्षेत्रको सरसफाइलाई व्यवस्थित गर्ने हाम्रो अभियान एक हदसम्म सफल भएको छ ।
अहिले हामीहरूले फोहोरबाट ग्यास निकाल्नका लागि ग्यास प्लान्ट निर्माणको काम पनि गरिरहेका छौँ । माघसम्म फोहोरबाट ग्यास निकालिसक्ने छौँ । हरियाली प्रवद्र्धनको क्षेत्रमा उपमहानगरपालिकाले राम्रो उपलब्धि हासिल गरेको छ । हामीले निर्वाचनमा जे प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यही प्रतिबद्धता अनुरूप अहिले काम पूरा गरिरहेका छौँ ।
बालमैत्री उपमहानगर बनाउनका लागि प्रक्रिया अगाडि सुरु गरेका छौँ । पूर्ण सरसफाइ र पूर्ण स्वच्छ पानी आम नागरिकलाई पु¥याउनका लागि विभिन्न योजना सञ्चालन गरेका छौँ । सङ्घीय, सरकार प्रदेश सरकार र हामी स्थानीय सरकारको तर्फबाट विभिन्न योजना अगाडि बढाएका छौँ । धेरैजसो बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराइसकेका छौँ । यस्ता धेरै काम गरेका छौँ ।

बाँकी कार्यकालमा के गर्नुहुन्छ ?

अझै कार्यकाल दुई वर्ष रहेकाले हामीहरू योजना पूरा गर्ने लक्ष्यमा अगाडि बढेका छौँ । रोजगारीको अवसर सिर्जना गर्नका लागि यहाँका उद्योग, धन्दा, कलकारखानालगायतका व्यवसायलाई प्रवद्र्धन गरिरहेका छौँ । विभिन्न सङ्घसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गरेर रोजगारमूलक काममा युवालाई कसरी प्रेरित गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौँ ।
सामूहिक कृषि खेती, बाख्रापालन लगायतका काममा पनि प्रोत्साहन गरिरहेका छौँ । अहिले किसानले भैँसीपालन, गाईपालन र मौरीपालनको काम गरिरहेका छन् ।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि राम्रो काम भएको छ । हाम्रो कार्यकाल आएपछि एक हजार रुपियाँ भत्ता बढेको छ । प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार हामीहरू पनि हाम्रो कार्यकालभित्र सामाजिक सुरक्षा भत्ता पाँच हजारसम्म पु¥याउने छौँ ।

थारू भाषाको संवद्र्धनमा के गर्नुभयो ?

यहाँको भाषा क्षेत्रको विकासमा पनि हामीले एक हदसम्म उपलब्धि हासिल गरेका छौँ । थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन हामी सफल भएका छौँ । थारू भाषा सिक्नका लागि अरू भाषीलाई पनि सजिलो होस् भनेर आधारभूत तहको शिक्षामा थारू भाषाबाट पाठ्यक्रम सञ्चालन गर्ने योजना अगाडि बढाएका छौँ ।

जलाशय निर्माणले कस्तो प्रभाव पारेको छ ?

जलाशय बहुउपयोगी भएका छन् । सुरुमा हेर्दा सामान्य पानी जम्मा भएको जस्तो मात्रै मानिन्छ तर यसका बहुआयामिक फाइदा छन् । अहिले धमाधम सहरीकरण भइरहेको छ । ठाउँठाउँमा पक्की घर तथा संरचना बनिरहेका छन् । आकाशबाट खसेको पानी जमिनमुनि जान पाइरहेको छैन । यही कारणले गर्दा हाम्रो जमिनमुनि पानीको सतह घटिरहेको छ । अहिले कृत्रिम जलाशयका कारण ती क्षेत्रमा सुकेका कुवा पनि रसाउन थालेका छन् । त्यसैगरी सिँचाइका लागि पनि ती कृत्रिम जलाशय उपयोगी भएका छन् । त्यस आसपासका आम किसानले बाह्रै महिना सिँचाइ गर्न पाउने भएका छन् । त्यसैगरी वातावरण संरक्षणको सवालमा पनि जलाशय अत्यन्त बहुउपयोगी भइरहेका छन् । पर्यटन क्षेत्रको विकासका लागि पनि अब हामीले निर्माण भएका जलाशयमा डुङ्गा चलाउन सुरु गरेका छौँ ।
अब त्यहाँ होटेल तथा विभिन्न पसल खुल्नेछन् । यसबाट धेरै युवाले प्रत्यक्ष रोजगारी पाउनेछन् । साथै कृत्रिम जलाशयमा माछापालन गरेर पनि युवाले आम्दानी गर्न सफल भएका छन् ।

लुम्बिनी प्रदेशले तीन महानगरको निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसतर्फ यहाँको तयारी देखिँदैन नि ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले तीन महानगरपालिकाको सङ्कल्प प्रस्तुत गर्नुभएको छ । हाम्रो जिल्लामा घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने प्रदेश सरकारको सङ्कल्प अनुरूप नै हामीले काम गरिरहेका छौँ । दुईवटा उपमहानगरपालिकाको सहकार्यमा दीर्घकालीन योजना तयार गरी काम भइरहेको छ । हामी प्रचारमुखीभन्दा पनि परिणाममुखी भएर काम गरिरहेका छौँ ।

उपमहानगरलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

पहिलो कुरा त घोराही उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउँछौँ भनेका छौँ । हरित नगर बनाउँछौँ भनेका छौँ । कृषिलाई व्यवस्थित गर्दै आत्मनिर्भर नगर बनाउँछौँ भनेका छौँ । यहाँ अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउने सपना देखेका छौँ । यी सबै कामको सुरुवात भइसकेका छन् । हिजो रोकिएका बाटा कालोपत्रे हुन थालेका छन् । त्यस्तै यहाँका मठमन्दिरको संरक्षणको काम पनि सुरुवात भएका छन् । घोराहीलाई पर्यटनको केन्द्र बनाउने गरी काम अगाडि बढिरहेका छन् ।
स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन विभिन्न गतिविधि सञ्चालन गर्ने योजना छ । शिक्षाको क्षेत्रमा शिक्षक छनोट कार्यविधि पास गरिसकेका छौँ । शैक्षिक गुणस्तर सुधार गर्न नीति निर्माण गरेर अघि बढ्ने कोसिस गरिरहेका छौं। मान्छेलाई लघुउद्यमतिर प्रोत्साहित गर्न तालिम दिने, युवालाई स्वरोजगार गराउने कुरा र पर्यटकीय क्षेत्रको विकासमा पनि हामी विशेष जोड दिएर अघि बढिरहेका छौँ ।

तपाईं किसान पृष्ठभूमिबाट उदाएको जनप्रतिनिधि । तपाईं प्रमुख भइसकेपछि यहाँका आमकिसानले के फाइदा लिन सके ?

हामीले निर्वाहमुखी खेती प्रणालीलाई अन्त्य गर्दै व्यावसायिक खेती गर्नुपर्छ भनेर भनेका छौं। यस कुरालाई सचेतनामूलक ढङ्गले अगाडि बढाइरहेका छौँ । हामीले बनाएका कृत्रिम जलाशयका वरपर अहिले धमाधम व्यवसायिक कृषिको काम भइरहेको छ । हामीले त्यहाँका किसानलाई व्यावसायिक खेतीका लागि अभिप्रेरित गरिरहेका छौं। उपमहानगरले अगाडि सारेको योजनाकै कारण त्यहाँका स्थानीयले केही हदसम्म आम्दानी पनि बढाउन सफल भएका छन् ।
यहाँका किसान धमाधम व्यावसायिक कृषिमा लाग्नु भएको छ । सिँचाइको सही सदुपयोग गर्न सक्नुभएको छ । हामीले उपमहानगरमा व्यावसायिक खेती तथा पशुपालन गर्ने किसानलाई विभन्नि औजार तथा अनुदान प्रदान गरिहेका छौँ । फलफूल खेती र टिमुर खेती भइरहेको छ । कृषिलाई यान्त्रीकरण गर्नका लागि हामी स्थानीय तहबाट पनि पहल गरिरहेका छौँ । प्रदेश सरकारले पनि आफ्ना योजना अगाडि बढाइरहेको छ । अहिले धेरै किसानले आधुनिक कृषियन्त्र प्रयोग गर्न थाल्नुभएको छ । समग्रमा किसानको आम्दानीका स्रोत बढेका छन् ।

आगामी दिनमा यहाँलाई जनताले कुन भूमिकामा देख्न पाउँछन् ?

हामी राजनीतिकर्मी भनेका जनताका सेवक हौँ । जनताकै कारण आज म यो भूमिकामा छु । नगर प्रमुखको भूमिकामा रहँदा मैले जहिले पनि जनताकै लागि काम गरेको छु । हाम्रो कामको मूल्याङ्कन जनताले पक्कै पनि गरिरहनुभएको होला । राजनीतिकर्मीलाई भूमिका दिने जनताले नै हो । मलाई घोराहीका जनताले जुन भूमिका दिनुहुन्छ म त्यही भूमिकामा हुनेछु ।

गोरखापत्र अनलाइनबाट साभार

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित