हरेक वर्ष आयोजना हुँदै आएको थारु साहित्य राष्ट्रिय सम्मेलन यस वर्ष बर्दियाको राजापुरमा हुने भएको छ।
थारु लेखक संघ र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा तथा बरघर समितिको व्यवस्थापनमा यही फागुन १६ र १७ गतेसम्म दुईदिने ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना गरिएको जंग्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले यसबारे जानकारी दिनुभएको छ।
उहाँका अनुसार सम्मेलनमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका २५ जिल्लाका थारु लेखक, साहित्यकार, पत्रकार तथा राष्ट्रिय स्तरका प्रतिष्ठित साहित्यकार, लेखक, रचनाकारहरूको उपस्थिति रहनेछ।
थारु भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो सम्मेलनमा समकालीन साहित्य, कला, संस्कृति, शिक्षा तथा आर्थिक, सामाजिक र राजनीतिक विषयमा विमर्श र बहस गरिनुका साथै स्रष्टा एवं सरोकारवालाबीच वृहत अन्तरक्रिया तथा प्यानल छलफल हुने अध्यक्ष डेमनडौराले बताउनुभयो।
यसबाहेक, यसै वर्ष प्रकाशित थारु भाषाका विभिन्न पुस्तकहरूको विमोचन गर्ने कार्यक्रम पनि रहेको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा थारु भाषाका पुस्तकहरू बिक्री तथा वितरणका लागि स्टलहरू पनि राखिनेछ।
डेमनडौराका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनलाई भव्य र सभ्य बनाउन बरघर समिति, युवा क्लब, बाल क्लब तथा स्थानीय संघसंस्थाहरू तयारीमा जुटेका छन्।
२०७३ सालमा दाङबाट सुरू भएको यो साहित्य सम्मेलन यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही र सुनसरीमा सम्पन्न भइसकेको छ। यस वर्ष पुनः बर्दियामा ९औं राष्ट्रिय साहित्य सम्मेलन हुन लागेको अध्यक्ष डेमनडौराले बताउनुभयो।