दंगीशरण दरबारकाे वृहत डिपिआर बनाउने तयारी, ३० लाख बजेट

करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो।

दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। 

यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको थिएन्।

दरबारको संरक्षण र प्रवद्र्धनका लागि थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको नेतृत्वमा स्थानीय सरकार, सरोकारवालाको सहभागितामा विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति जुटेको हो। 

अबको केही महिनामा त्यस क्षेत्रमा विकासका लागि डिपिआर तयार गर्ने, दरबारको उत्खनन्, अनुन्धानका लागि पुरात्व विभागका टोलीलाई बोलाउने तयारी भइरहेकोे प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार डिपिआर र दरबारको संरक्षणका लागि प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन भएको छ। यसको बृहत विकासका लागि पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने भएकाले त्यसका लागि पहल गरिरहेको चौधरीले बताए। 

दंगीशरणको दरबारभित्र वर्ड गार्डेन पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारकै सहयोगमा निर्माण भइरहेको पार्कमा दंशीरशण राजाको शालिक स्थापना गरिने छ। 

यद्यपि विना गुरुयोजना दरबारको विकासका नाममा जथाभावी संरचना बनाउने र दरबारको अस्तित्व मेटिनेगरी अव्यवस्थित संरचना निर्माण गरेको भन्दै थारु कल्याणकारिणी सभाले विरोध गर्दै आएको थियो। अहिले डिपिआर बनाएर मात्र त्यस क्षेत्रको विकास गर्ने सहमति भएको हो। 

सुकाराकोटमा थारू राजा दंगीशरणले राज्य चलाएको किम्बदन्ती पाइन्छ। त्यसक्षेत्रमा पुरातत्व विभागले ३ पटकसम्म उत्खन्न गरिसकेको छ। 

उत्खननको क्रममा थारू राजा दंगीशरणले प्रयोग गर्ने गरेका केही पुराना सिक्का, थारू समुदायका पुर्खाले प्रयोग गर्दै आएको विभिन्न प्रकारका माटाका भाडाकुडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाले घाटीमा लगाउने मोतीका दाना, हाँतमा लगाउने लखौटीका चुरा, माटोबाट बनेका देउताका मूर्ति, शिकार खेल्ने धनुष, चार प्रकारका इट्टा लगायत भेटिएका थिए।

आयोमेल डटकमबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित