ए साथीः एकछिन बिसाउनुस् न भारी

केवी चौधरी

तस्विरः कृष्णराज सर्वहारी

 

ए साथी,

एकछिन बिसाउनुस् न भारी
यो चौतारीमा बसेर
लालुपातेको फूलसंग
धित मरुन्जेल बात मारौ
परको त्यो उखुबारीमा
पारिलो घामसंगै
उखुको रस सरि
प्रेमको अनुभूति गरौं
प्लस र माइनसको दुःखद जन्जाल त्यागेर
यादहरुको बिच्चबाट
एउटा रुमानी कथा सम्झिदै
वर्षौदेखि हराइरहेको कालपारे दाइलाई सम्झना गरौ
हामीले खेलेका
छुर र घोरबासाको लय लाई नकुल्चिकनै
वर्तमानको यो दौडलाई गति दिने सल्लाह गरौ
म होइन
हामीले नै गुर्बाबाले निर्माण गरेको
बाँसघारी पारीका
सुन्दर बस्तीहरुलाई सजाउने प्रण गरौ
महत्वाकांक्षाको भीडबाट टाढा कतै
सरलताको छहारीमा
शितलताको बहस गरौं
खेन्वाको डिलमा बसेर
दिलको गहिराइबाट
एक मुठी मुस्कान मिसाएर
छब्वा मिन्ही संगै
भिउँरामा माछा मार्ने सल्लाह गरौ
र बर्सेनि आउने माघको
यो टिट्त्याउने  जाडोलाई
सर्लक्कै ओढेर
अधुरो त्यो बसन्तको कल्पना गरौ ।

ए साथी,

एकछिन बिसाउनुस् न भारी

 गुलरिया, दाङ 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित