निर्देशक अनुप चौधरीको थारु भाषाको चलचित्र ‘हमार कहानी’ को शुभ मुहुर्त मंसिर १७ गते लमही–३, उत्तर मजगाउँस्थित शिव मन्दिरमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले उक्त चलचित्रको शुभ मुहुर्त गरेका हुन् ।
सानबी फिल्म प्रोडक्सन धनगढीको पहिलो प्रस्तुति रहेको चलचित्रमा कृष्ण चौधरीको कथा पटकथा तथा शब्द, संगीत रहेको छ । कृष्ण चौधरीले थारु भाषाको टुटल जिन्गी, भौंरा लगायत ६ वटा चलचित्र निर्देशन गरेका छन् । ‘हमार कहानी’ चलचित्र उनका छोरा अनुप चौधरीले निर्देशन गर्दैछन् । निर्देशक अनुपको यो डेब्यू निर्देशन हो ।
शुभ मुहुर्तको अवसरमा प्राज्ञसभा सदस्य डा सर्वहारीले भने, ‘थारु समुदायका कथा उजागर गर्ने चलचित्र सशक्त माध्यम हो । विडम्वना राम्रा कथाबस्तुमा चलचित्र बन्न सकेको छैन । हमार कहानीले कोशेढुंगा पार गरोस् ।’ निर्देशक कृष्णले आफ्ना छोरा अनुपलाई निर्देशनको बागडोर सम्हाल्न लगाएर पुस्ता हस्तान्तरण गरेकोमा उनले खुशी व्यक्त गरे ।
यसका मुख्य कलाकारमा पुष्कर अवस्थी, राजेश अनुरागी, श्याम चौधरी, मोहन बोहरा, प्रिज्मा ठकुराठी, रहेका छन् । त्यस्तै, अन्य कलाकारमा छविलाल कोपिला, दुर्गा साउद, सुरेन्द्र संगम ‘डोट्याल बड्डो’ रहेका छन् । हमार कहानी’ चलचित्रको छायांकन दाङदेउखुरीको लमही, घोराही, तुलसीपुरलगायत विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा नृत्य निर्देशन अनमोल विसी, छायांकन राजेश अनुरागी, सहछायांकन तुफान, मेकअप सुमन शंकरको रहेको छ । थारु समुदायको सामाजिक कथाबस्तुका साथै बोक्सी प्रथाको समस्यालाई उजागर गरिएको निर्देशक अनुप चौधरीले बताए ।