
घोराही, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुइदिने बन्दको कारण दाङको जनजीवन प्रभावित भएको छ। सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइ सहित १४ वुँदे माग गर्दै आज मंगलबार र बुधबार आमहड्तालको आह्वान गरेको छ ।

आमहड्तालका कारण घोराही, तुलसीपुर र लमही लगायतका मुख्य बजार, उद्योग, शिक्षण संस्था, यातायात सबै ठप्प रहेकाछन्। मोर्चाको मागलाई सम्वोधन गर्नका लागि पटक पटक सरकारलाई ताकेता गर्दा पनि सरकारले सुनुवाई नगरेको कारण आमहड्ताल गर्नु पर्ने बाध्यता भएको थरुहट थारुवान मोर्चा दाङका जिल्ला संयोजक जानकुलाल चौधरीले जानकारी दिए ।

मोर्चाले सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइ गरिनुपर्ने, टिकापुर घटनाबारे सत्यतथ्य छानबिन, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा सर्वदलीय संसदीय समितिको प्रतिवेदन पनि सार्वजनिक गरिनुपर्ने लगायत १४ वुदेँ माग गरेको छ।
