नयाँ झोला, कापी र कलम पाएपछि सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको मुहारमा खुसी छाएको छ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन समस्या भोग्दै आएका १८ जना विद्यार्थीले छात्रवृत्तिसहित शैक्षिक सामग्री पाएपछि अध्ययनप्रति थप उत्साहित भएका छन् । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले अध्ययनमा सहज हुने भन्दै खुसी व्यक्त गरेका हुन् ।

राजपुर गाउँपालिका–१ चदालपुरकी अनुजा चौधरीले कापी र झोलासमेत नहुँदा पढाइमा समस्या भोग्नुपरेको बताउनुभयो । नयाँ झोल र कापी कलम पाएपछि खुशी हुदै उहाँले अध्ययनलाई निरन्तरता दिन थप हौसला मिलेको बताउनुभयो । त्यस्तै, देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत लमही नगरपालिका–७ हस्नापुरकी विनिता चौधरीले छात्रबृत्तिले आफ्नो अध्ययनमा सहजता ल्याउनुका साथै पढाईमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङले लमही नगरपालिका–७ कप्तानगञ्जमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई विद्यालय झोला, कापी, कलम, डटपेन, क्याल्कुलेटर, पेन्सिल कटर र इरेजरलगायतका शैक्षिक सामग्री वितरण गरेको हो । आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो । उहाँका अनुसार संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका विपन्न तथा सिकलसेल प्रभावित परिवारका विद्यार्थीलाई हरेक वर्ष सहयोग गर्दै आएको छ ।
संस्थाको अुसार छात्रवृत्ति प्राप्त गर्नेमा लमही नगरपालिका -८ का सुशान्त चौधरी, सुदन चौधरी, आदिप चौधरी, स्नेहा चौधरी, समिका चौधरी, अर्पण चौधरी र करुणा चौधरी तथा लमही(७ का राजन चौधरी, अविषेक चौधरी, विनिता चौधरी र समीक्षा चौधरी रहनुभएको छ । त्यसैगरी, राजपुर गाउँपालिका–१ का अनुका चौधरी र अनिषा चौधरी तथा लमही-७ का अनुजा चौधरी, गौरी चौधरी, अनुपा चौधरी र आयुष चौधरीले छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।
केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दीपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष पूनम घर्ती मगर र पत्रकार सन्तोष दहितलगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । केन्द्रका कोषाध्यक्ष मीरा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रकी सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।


