सिकलसेल प्रभावितका लागि दुखाइ व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

पार्वती वस्नेत

दाङ, जेठ २९ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले बिहीबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा सिकलसेल प्रभावित व्यक्तिहरूका लागि दुखाइ व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राप्ती सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सिकलसेलका बिरामीहरूले दुखाइ व्यवस्थापन गर्न अपनाउनुपर्ने सावधानी र आवश्यक भूमिकाबारे जानकारी दिइएको थियो।

कार्यक्रममा फत्तेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोजकुमार मिश्र र सिकलसेलका फोकल पर्सन कालुराम थारुले सहजीकरण गर्नुभएको थियो। इन्चार्ज मिश्रले जन्म र मृत्यु जीवनका शाश्वत सत्य भएकाले सिकलसेल रोगलाई पनि उचित खानपान, आहार–विहार र नियमित स्वास्थ्य सचेतनाका माध्यमबाट व्यवस्थापन गर्न सकिने बताउनुभयो। उहाँले सामान्य व्यक्तिको तुलनामा सिकलसेलका बिरामीले पर्याप्त मात्रामा, सम्भव भएसम्म बढी पानी पिउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार शरीरमा हुने दुखाइ कम गर्न धामी–झाँक्री वा अन्धविश्वासतर्फ लाग्नु उचित होइन। चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने र श्वासप्रश्वासमा समस्या वा अत्यधिक दुखाइ भए तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्ने उहाँले आग्रह गर्नुभयो। आवश्यकताअनुसार बिरामीलाई रगत चढाउनुपर्ने वा अक्सिजन दिनुपर्ने अवस्था आउन सक्ने भएकाले समयमै नजिकको स्वास्थ्य चौकी वा अस्पताल लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

सिकलसेलका फोकल पर्सन कालुराम थारुले सिकलसेलका बिरामी मानसिक रूपमा कमजोर नहुने भन्दै समाजले हेय दृष्टिले हेर्छ भन्ने भ्रम नराख्न आग्रह गर्नुभयो। उहाँले नियमित शारीरिक व्यायाम, सकारात्मक सोच तथा मनोबल बढाउने गतिविधिमा सहभागी हुन सुझाव दिनुभयो। शरीरमा रगतको प्रवाह अवरुद्ध हुँदा दुखाइ बढ्ने भएकाले पर्याप्त पानी पिउनु सिकलसेल व्यवस्थापनको महत्वपूर्ण घरेलु उपाय भएको उहाँको भनाइ थियो।

अभिमुखीकरणका क्रममा सहभागीहरूले महिनावारीका बेला हुने दुखाइ, थाइराइड, मधुमेह लगायतका रोग भएका सिकलसेल बिरामीलाई रगत चढाउनुपर्ने अवस्थाबारे जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको जवाफ फोकल पर्सन थारुले दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रामलखन थारुले अनावश्यक चिन्ता र आफैं चिकित्सक बन्ने मानसिकताबाट मुक्त हुन सके सिकलसेल प्रभावितहरूले पनि स्वस्थ जीवनयापन गर्न सक्ने बताउनुभयो। नियमित स्वास्थ्य परीक्षण तथा विवाहअघि सिकलसेल परीक्षणलाई प्राथमिकता दिए रोगको न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। उहाँले विद्यालय लक्षित सिकलसेल सचेतना तथा परीक्षण शिविर सञ्चालनका लागि सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरे पनि अन्य परीक्षणका नाममा नागरिकबाट अनावश्यक शुल्क लिने गुनासो आफूले यही कार्यक्रममार्फत थाहा पाएको भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। साथै, राप्ती सोनारी क्षेत्रमा सिकलसेल शिविर सञ्चालन, बिरामी पहिचान, परामर्श तथा दुखाइ व्यवस्थापन कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकलाई सेवा दिएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

संस्थाका सल्लाहकार सोगतवीर चौधरीले बाँकेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ७७ जना सिकलसेल प्रभावित पहिचान गरिएको जानकारी दिनुभयो। ती बिरामीहरूको दुखाइ व्यवस्थापनका लागि वर्तमान अभिमुखीकरण आयोजना गरिएको र आगामी दिनमा प्रभावित बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो।

अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाज निर्माण गर्ने उद्देश्यका साथ संस्थाले समुदायको उत्थान तथा सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। स्वस्थ नागरिकबिना समुन्नत समाज निर्माण सम्भव नहुने भएकाले सिकलसेलसम्बन्धी सचेतना र परीक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो। भविष्यका कर्णधार बालबालिकाको स्वास्थ्य संरक्षणका लागि संस्थाले निरन्तर पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। संस्थाका कार्यक्रम अधिकृत अस्मिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित