तुलसीपुरमा आयोजना हुन गइरहेको माघ विशेष कार्यक्रमको तयारीलाई तीव्रता दिइएको छ ।
नमूना भुह्यारथान, थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ मटाँवा, बरघर, भलमन्सा संघ तथा थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको सहआयोजनामा यही पुस २५ गते तुलसीपुर उपमहानगरपालिका–६ जबरपुरस्थित नमूना भुह्यारथानको प्राङ्गणमा महोत्सव आयोजना हुने भएको हो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन मघौटा नाच दर्ता लगायतका तयारी कार्य भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक रामशरण चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार कार्यक्रममा ६ वटा नाच मात्र प्रस्तुत गर्ने र कार्यक्रममा माघको विशेष छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैबीच आयोजक समितिले सबै थारु समुदायलाई आफ्नो मौलिक भेषभूषासहित सहभागी हुन आग्रह गरेको छ ।
यस्तै कार्यक्रमको उद्घाटन एवं विशेष सम्वोधनको लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट गरिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । साथै कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, स्थानीय जनप्रतिनिधि तथा थारु अगुवाहरूको सम्बोधन रहनेछ । कार्यक्रममा थारू परिकार घोंघी, गंगटा, सुँगुरको पक्वा, मासु, ढिक्री, अनडीको रोटी लगायतको व्यवस्था गरिएको छ ।


