मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन लक्षित गरी २० दिने तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। मुक्त कम्लरी विकास मञ्चले तुलसीपुर उपमहानगरपालिका१५, १६ र १८ नम्बर वडाका ६ वटा समूहका १५ जना मुक्त कम्लरीलाई उक्त तालिम दिइएको हो ।

तालिममा सहभागी तुलसीपुर–१६ को माया चौधरी विगत तीन वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । तर, उहाँले यसअघि कहिल्यै पनि तरकारी खेति सम्वन्धी औपचारिक तालिम लिनुभएकोथिएन । अहिले तालिम लिएपछि आफूमा तरकारी उत्पादन गर्नमा नयाँ उत्साह जागेको उहाँले बताउनुभयो । “पहिला गाउँघरमा परम्परागत शैलीमा मात्रै खेती गर्थेँ,” उहाँले भन्नुभयो, “अब तालिम लिएपछि थोरै जग्गामै धेरै तरकारी उत्पादन गर्न सकिन्छ भन्ने कुरा सिकेँ। यसले मलाई थप नयाँ सिकाइ दियो।” उहाँको अनुसार तालिमले काउली, बन्दाकोबीसहितका तरकारी नर्सरी बनाउन, व्यवस्थापन गर्न र रोग कीरा नियन्त्रण गर्ने व्यवहारिक ज्ञान समेत दिइएकोथियो ।
यस्तै, तुलसीपुर–१८ की सबिता चौधरी पनि यसअघि कहिल्यै तरकारी उत्पादन तालिममा सहभागी नभएको बताउनुभयो । उहाँले यस तालिमले आफूलाई तरकारी खेती गर्नमा सहज हुने विश्वास दिलाएको बताउनुभयो । “थोरै जग्गामा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने सीप सिकेँ,” उहाँले भन्नुभयो, “मौसमी र बेमौसमी तरकारी खेती गर्ने प्रविधि, प्लास्टिक टनेल बनाउने तरिका र रासायनिक विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराबारे सिक्ने अवसर मिल्यो।”
तरकारी उत्पादन तालिमले मुक्त कम्लरीहरुमा आत्मविश्वास बढाउने मात्र नभई आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने अपेक्षा गरिएको मुक्त कम्लरी विकास मञ्चकी सहजकर्ता सरिता चौधरीले बताउनुभयो । “मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन र उहाँहरूको परिवारलाई सीपमूलक व्यवसायमा प्रोत्साहित गर्न हामीले यो तालिम सञ्चालन गरेका हौं,” उहाँले भन्नुभयो । २० दिने तालिमको सहजिकरण तुलसीपुर उपमहानगर कार्यालय कृषि विकास शाखाकामा कार्यरत शंकर न्यौपानेले गर्नुभएकोथियो ।


