झुपडीबाट उज्यालोतर्फ इलावतीको यात्रा

घर त थियो, तर नामको मात्रै। सिठाले बेरिएको फुसको छाना, पानी पर्दा चुहिने, हावाहुरी आउँदा छानो उड्ने डर। हिउँदमा चिसोले सुत्न नसकिने, बर्खायाममा त रात काट्न झनै कठिन। खाट सार्दै, भाँडो थाप्दै रात बिताउनु इलावती चौधरीका लागि दैनिकी जस्तै थियो। यही असुरक्षित घरमा जीवन बिताइरहनुभएकी गढवा गाउँपालिका–२, महादेवाकी इलावती बुधबारदेखि भने ती सबै दुःखबाट मुक्त हुनुभएको छ।

घर हस्तान्तरण कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीसँग इलावतीकी हजुरआमा र भाइ।

सानै उमेरमा आमाबुवा गुमाउनुभएकी इलावतीका लागि जीवन कहिल्यै सहज रहेन। सात वर्षको उमेरमै आमाको निधन भयो। त्यसको एक वर्ष नबित्दै टिबी रोगबाट पीडित बुवाको पनि आर्थिक अभावकै कारण उपचार हुन सकेन र उहाँको निधन भयो। अशक्त ८० वर्षीया हजुरआमा कैलाशपति चौधरी र सानो भाइको सम्पूर्ण जिम्मेवारी इलावतीकै काँधमा आयो। पढाइमा अब्बल हुँदाहुँदै पनि आर्थिक अभावका कारण इलावती आठ कक्षामा पढ्दै गर्दा पढाइ छोड्न बाध्य भइन् र १५ वर्षकै उमेरमा मजदुरी गर्न थालिन्। बिहान–साँझको छाक टार्नसमेत मुस्किल पर्ने अवस्थामा घर बनाउने कुरा सपनामै सीमित थियो।

इलावतीकी हजुरआमा र भाइसँगै घर निर्माणमा सहयोग पुर्‍याउने सहयोगी संस्थाका प्रतिनिधि र स्थानीयहरू ।

तर बुधबार इलावतीको जीवनमा नयाँ मोड आयो। उहाँ नयाँ, भूकम्प प्रतिरोधात्मक पक्की घरमा सर्नुभयो। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, मेटलाइफका निर्मलकाजी श्रेष्ठ, निवास संस्थाकी सुष्मा श्रेष्ठ तथा सोही पालिकाका वडा नं. २ का अध्यक्ष भक्तु चौधरीले इलावती, उहाँकी हजुरआमा कैलाशपति चौधरी र भाइ शिवशंकर चौधरीलाई संयुक्त रूपमा गृहप्रवेश गराउँदै घर हस्तान्तरण गर्नुभयो।

रिबन काटी गृहप्रवेश गराउँदै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा र ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी।

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीका अनुसार ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण तथा भूमिमा महिलाको स्वामित्वसम्बन्धी सचेतना पैरवी परियोजना’ अन्तर्गत दुई कोठे भूकम्प प्रतिरोधात्मक पक्की घर र शौचालय निर्माण गरिएको हो। परियोजनाबाट ४ लाख २५ हजार रुपैयाँ र गढवा गाउँपालिकाबाट २ लाख रुपैयाँको साझेदारीमा घर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।

“घर थियो तर नामको मात्रै, आज हामी साँच्चिकै घर पाएका छौं। म धेरै खुशी छु। मभन्दा बढी मेरो हजुरआमा खुशी हुनुहुन्छ,” भावुक हुँदै इलावतीले भन्नुभयो, “उहाँलाई सुरक्षित घरमा बसाउने मेरो ठूलो चाहना थियो, तर मबाट सम्भव थिएन। ग्रामीण महिला उत्थान केन्द्र र गाउँपालिकाले मेरो सपना पूरा गरिदिनुभयो। धन्यवाद छ।” “अब यही घरबाट मेरो जीवनको नयाँ यात्रा सुरु गर्छु,” उहाँले भन्नुभयो। “पढाइ छोड्नुपरेको पीडा अझै मनमा छ, तर अब फेरि पढ्न पाउने आशा पलाएको छ।”

पुस १४ गते गोरखापत्र दैनिकमा ‘सानैमा चुँडियो इलावतीको पढ्ने रहर’ शीर्षकमा समाचार प्रकाशित भएपछि ग्रामीण महिला उत्थान केन्द्रले इलावतीको स्नातक तहसम्मको सम्पूर्ण पढाइ खर्च बेहोर्ने जिम्मेवारी लिएको छ। घर निर्माणसँगै पढाइको सुनिश्चितताले इलावतीको जीवनमा थप उज्यालो आएको छ। इलावती यही आइतबारदेखि सरस्वती माध्यमिक विद्यालय, गोवरडिहाकामा अध्ययन सुरु गर्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश बर्माले जानकारी दिनुभयो।

स्थानीय बासिन्दाहरू पनि इलावतीको खुसीमा सहभागी भएका छन्। “इलावतीको दुःख देखेर हामी पनि पिरोलिन्थ्यौं,” गृहप्रवेश कार्यक्रममा सहभागी स्थानीय रामकुमारी चौधरीले भन्नुभयो, “अब उहाँलाई दुःख हुने छैन। हामी सबैलाई निकै खुशी लागेको छ।” झुपडीबाट पक्की घरमा सरेकी इलावतीको अनुहारमा आज आशा, आत्मविश्वास र उज्यालो भविष्यको झल्को देखिन्छ। दुःखका दिनहरू पार गर्दै शिक्षा र सुरक्षित आवाससँगै इलावतीको जीवनले अब नयाँ दिशा लिएको छ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित