अट्वारी पर्वः मिथक, अनुष्ठान र थारू सांस्कृतिक पहिचान

भुवन चौधरी

परिचय
नेपालका थारू समुदायको सांस्कृतिक जीवन विविध पर्व, परम्परा, मिथक र सामाजिक अभ्यासले समृद्ध छ । माघ, अष्टिम्की, गुरै, होरी, जितिया, सामाचकेवा, डश्या, डेवारी, हरढावा, पेंड्या लगायतका पर्वझैँ अट्वारी पनि थारू समुदायमा (विशेषतः पश्चिम नेपालका थारू समुदायमा) प्रचलित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न थारू बस्तीमा मनाइने अट्वारी धार्मिक आस्थासँग मात्र सम्बन्धित छैनः यसले परिवार, आफन्त, सामुदायिक एकता, प्रकृति, खाद्य संस्कृति र थारू सांस्कृतिक पहिचानलाई समेत जोड्ने काम गर्छ ।

अट्वारीको नाम नै यसको समयसँग जोडिएको मानिन्छ । थारू भाषामा आइतबारलाई ‘अट्वार’ भनिन्छ । भदौ महिनामा कृष्ण जन्माष्टमी (अष्टिम्की) पर्व पछी आउने कुसअमाउस (कुशे औँसी) पछिको पहिलो आइतबार मनाइने भएकाले यसलाई अट्वारी भनिएको पौराणिक व्याख्या पाइन्छ । अर्कोतर्फ यसको धार्मिक अर्थ सूर्यपूजासँग जोडिएको पाइन्छ । सूर्य उज्यालो, जीवन र शक्तिको प्रतीक भएकाले प्रकृतिप्रति गहिरो आस्था राख्ने थारू समुदायमा सूर्यप्रति श्रद्धा व्यक्त गर्ने परम्परा रहेको पाइन्छ । सूर्य भनेको रवि अनि आइतबारलाई थारुहरुले रविबार पनि भन्ने गर्दछन् । यस अर्थमा पनि अट्वारीको नामकरण पुष्टि हुन्छ ।

अट्वारीको रोटी बनाउँदै

भीम र दङ्गीशरणको मिथक
अट्वारीसँग जोडिएको सबैभन्दा चर्चित मिथक/ख्यान महाभारतका भीम, दङ्गीशरण र बकासुरसँग सम्बन्धित छ । प्रचलित कथाअनुसार दङ्गीशरण संकटमा परेका बेला भीमले उनलाई सहयोग गरे र बकासुरसँग युद्ध गरी विजय प्राप्त गरे । यही घटनाको स्मरणमा अट्वारी मनाउने परम्परा सुरु भएको भन्ने सामुदायिक विश्वास छ । तर यस्तो आख्यानलाई प्रत्यक्ष ऐतिहासिक प्रमाणका रूपमा लिनुभन्दा थारू समुदायको मौखिक सांस्कृतिक स्मृति र मिथकीय इतिहास बोधका रूपमा बुझ्नु उपयुक्त हुन्छ । मिथक ऐतिहासिक दस्तावेज नहुन सक्छ, तर त्यसले समुदायको सामाजिक जीवनमा निर्माण गर्ने अर्थ भने वास्तविक हुन्छ । भीमको वीरता, साहस, संरक्षण र संकटविरुद्धको संघर्षको कथा अट्वारीमार्फत प्रत्येक पुस्तामा पुनःस्मरण हुन्छ । यस अर्थमा अट्वारी एउटा पर्व मात्र होइन, समुदायले आफ्नो अतीतलाई वर्तमानमा सम्झने सांस्कृतिक माध्यम पनि हो ।

अट्वारी मान्दै ।

उपवासदेखि पूजासम्म
अट्वारीमा उपवास महत्वपूर्ण अनुष्ठान हो । पर्वका अवसरमा स्नान गर्ने, घर तथा पूजा गर्ने स्थान सफा गर्ने, शुद्धीकरण गर्ने, पूजा सामग्री तयार गर्ने र निश्चित धार्मिक नियम पालना गर्ने चलन पाइन्छ । कतिपय परम्परामा नुन, बेसार, खुर्सानी, मासु लगायतका खाद्य पदार्थबाट परहेज गर्ने र विशेष प्रकारका फलफूल तथा परिकार ग्रहण गर्ने गरिन्छ । अट्वारीको अर्को विशिष्ट पक्ष पवित्र अग्नि, सूर्यपूजा र कुश/खरबाट बनाइने भ्याँवा वा भेर्वा हो । स्थानीय विश्वासअनुसार भीम युद्ध जितेर फर्कने क्रममा बीच बाटोमा पर्ने सोतामा कुश वा खरको भ्याँवा बनाएर जल चढाएका थिए । शत्रुबाट पुनःआक्रमण भएमा त्यसभन्दा अगाडि बढ्न नसकून् भन्ने प्रतीकात्मक विश्वाससँग पनि भ्याँवाको सम्बन्ध जोडिएको पाइन्छ । यी अभ्यासलाई केवल धार्मिक कर्मकाण्डका रूपमा हेर्नु पर्याप्त हुँदैन। यिनले पवित्रता, आत्मसंयम, सुरक्षा, प्रकृतिप्रतिको सम्मान र सामुदायिक विश्वासलाई अभिव्यक्त गर्छन् ।

गन्यारी काठबाट नयाँ आगो निकाल्दै

एकतर्फी रोटीको विशेष अर्थ
अट्वारीको सबैभन्दा रोचक सांस्कृतिक पक्षमध्ये एकतर्फी पकाइएको रोटी पनि हो । सामुदायिक मिथकीय व्याख्याअनुसार भीम युद्धमा हतारिँदा रोटी पूर्ण रूपमा पकाउन नपाई युद्धमा जानुपरेको स्मरणस्वरूप एकतर्फी पकाइएको रोटी अर्पण गर्ने परम्परा विकसित भएको मानिन्छ । सामान्य देखिने एउटा रोटी यहाँ मिथकको भौतिक प्रतीक बन्न पुग्छ। यसले एउटा महत्वपूर्ण कुरा देखाउँछस थारू समुदायमा भोजन केवल खाने वस्तु होइन, स्मृति र संस्कृतिको वाहक पनि हो । पर्वमा तयार गरिने विशेष खाना, त्यसको अर्पण, ग्रहण र आफन्तबीच बाँडफाँडले धार्मिक आस्थासँगै सामाजिक सम्बन्धलाई पनि जोड्छ।

अट्वारी र दाजुभाइ–दिदीबहिनीको सम्बन्ध
अट्वारीको सामाजिक पक्ष अत्यन्त महत्वपूर्ण छ । विभिन्न थारू समुदायमा यस पर्वलाई दाजुभाइ दिदीबहिनी तथा आफन्तीय सम्बन्धसँग जोडेर हेर्ने परम्परा पाइन्छ । पुरुषले दिदीबहिनी तथा परिवारको सुख, स्वास्थ्य र कल्याणको कामनासहित उपवास बस्ने, उपवास बसी भोजन गर्दा सबैभन्दा पहिले चेलीबेटीहरुको लागि भोजन छुट्याउने (अग्रासन झिक्ने) तथा पर्वका अवसरमा आफन्तबीच भेटघाट, शुभकामना र भोजन आदानप्रदान गर्ने चलनले नातेदारीलाई थप बलियो बनाउँछ । यसरी हेर्दा अट्वारीले जन्मबाट प्राप्त पारिवारिक सम्बन्धलाई मात्र कायम राख्दैनः पर्व, उपवास, भोजन, भेटघाट र पारस्परिक सहयोगमार्फत ती सम्बन्धलाई पुनःसक्रिय बनाउँछ । पर्वको समयमा टाढा रहेका चेलीबेटीहरु प्रतिको माया ममता प्रकट हुनु पारिवारिक तथा सामाजिक आत्मीयता पुनःस्थापित गर्ने महत्वपूर्ण अवसर हो ।

अट्वारीको अग्रासन दिन जाँदै

महिलाको श्रम र पुरुषको उपवास
अट्वारीलाई लैङ्गिक दृष्टिले हेर्दा अर्को महत्वपूर्ण पक्ष देखिन्छ । परम्परागत रूपमा उपवास तथा केही धार्मिक कर्म पुरुषसँग बढी जोडिएको पाइए पनि पर्वलाई सफल बनाउन महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । घरको सरसफाइ, पूजा सामग्रीको तयारी, रोटी तथा अन्य परिकार निर्माण, परिवारका सदस्यको व्यवस्थापन र सांस्कृतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा महिलाको ठूलो योगदान रहन्छ । यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—पर्वमा पूजा गर्ने व्यक्ति मात्र महत्वपूर्ण हो कि पूजा सम्भव बनाउने श्रम पनि उत्तिकै महत्वपूर्ण होरु अट्वारीको अध्ययनले धार्मिक अनुष्ठानभित्र देखिने प्रत्यक्ष र अप्रत्यक्ष श्रम, लैङ्गिक जिम्मेवारी तथा बदलिँदो सामाजिक भूमिकालाई समेत बुझ्न अवसर दिन्छ । पछिल्लो समयमा शिक्षा, सामाजिक चेतना र बदलिँदो पारिवारिक संरचनासँगै महिलाको धार्मिक सहभागितामा पनि परिवर्तन देखिन थालेको छ ।

प्रकृति र थारू जीवन
थारू समुदायको ऐतिहासिक जीवन जल, जंगल, जमिन (नदी, वन र कृषि) सँग गहिरो रूपमा जोडिएको छ । त्यसैले उनीहरूको धार्मिक तथा सांस्कृतिक अभ्यासमा प्रकृतिको उपस्थिति स्वाभाविक रूपमा देखिन्छ । अट्वारीमा सूर्यप्रतिको सम्मान, कुशरखरको भ्यांवा पुजा, स्थानीय खाद्य सामग्री तथा ऋतुचक्रसँग यसको सम्बन्धले मानिस र प्रकृतिबीचको सम्बन्धलाई सांस्कृतिक रूपमा अभिव्यक्त गर्छ । सूर्य उज्यालो र जीवनको प्रतीक हो । प्रकृतिमा निर्भर कृषि समाजका लागि सूर्यको महत्व केवल धार्मिक प्रतीकमा सीमित हुँदैनः यो उत्पादन, जीवन र अस्तित्वसँग पनि जोडिन्छ । यस अर्थमा अट्वारीलाई धर्म र प्रकृतिबीचको सांस्कृतिक सम्बन्धका रूपमा समेत बुझ्न सकिन्छ ।

अट्वारी र थारू पहिचान
अट्वारीको सबैभन्दा गहिरो महत्व यसको सांस्कृतिक पहिचान निर्माण गर्ने क्षमतामा रहेको छ। भाषा, मिथक, पूजा, भोजन, पोसाक, पारिवारिक सम्बन्ध र सामूहिक सहभागिताले ‘हामी को हौँरु’ भन्ने प्रश्नको सामुदायिक उत्तर निर्माण गर्छ । बच्चाहरूले अट्वारीको अर्थ पुस्तकबाट मात्र सिक्दैनन्। उनीहरूले हजुरबा–हजुरआमा तथा आमाबुबाबाट कथा सुन्छन्, रोटी बनाउन सिक्छन्, पूजा प्रक्रिया हेर्छन्, आफन्तसँग भेटघाट गर्छन् र सामूहिक व्यवहारमा सहभागी हुन्छन्। यसरी पर्व आफैँ एउटा अनौपचारिक सांस्कृतिक विद्यालय बन्न पुग्छ । त्यसैले अट्वारी सांस्कृतिक पहिचानको संरक्षण मात्र होइन, नयाँ पुस्तामा पहिचानको पुनरुत्पादन गर्ने प्रक्रिया पनि हो ।

बदलिँदो समय र अट्वारी
आज शिक्षा, रोजगारी, बसाइँसराइ, सहरीकरण, वैदेशिक रोजगार, बजार विस्तार र सामाजिक सञ्जालले थारू समुदायको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइरहेका छन् । यसको प्रभाव अट्वारीमा पनि पर्नु स्वाभाविक हो । कतिपय परिवारमा परम्परागत विधि छोटिएका छन् । कतिपय सामग्री बजारबाट आउन थालेका छन् । युवापुस्ताको सहभागिता गाउँमा भन्दा शहरमा फरक देखिन्छ । अर्कोतर्फ सामाजिक संजाल ँबअभदययप, थ्यगत्गदभ, त्ष्पत्यप लागायतका डिजिटल माध्यमले अट्वारीका कथा, गीत, भोजन र अनुष्ठानलाई नयाँ पुस्ता र समुदायभन्दा बाहिरसम्म पुर्‍याउने अवसर पनि सिर्जना गरेका छन् । त्यसैले अट्वारीलाई ‘हराउँदै गएको परम्परा’ मात्र भन्नु उचित हुँदैन । बरु यो परम्पराको निरन्तरता र परिवर्तन दुवै बोकेको जीवित सांस्कृतिक प्रणाली हो । संस्कृति स्थिर हुँदैनस समयसँगै यसको स्वरूप बदलिन्छ, तर त्यसको मूल अर्थ नयाँ सन्दर्भमा पुनःनिर्माण हुन सक्छ ।

संरक्षण कसरी गर्नेः
अट्वारीको संरक्षण केवल पर्वका दिन सार्वजनिक कार्यक्रम आयोजना गरेर सम्भव हुँदैन । यसको मौखिक कथा, स्थानीय शब्दावली, पूजा विधि, खाद्य परम्परा, गीत, मिथक तथा परिवारमा प्रचलित ज्ञानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न आवश्यक छ । ज्येष्ठ पुस्तासँग मौखिक इतिहास संकलन गर्ने, स्थानीय थारू भाषामा सामग्री तयार गर्ने, विद्यालयको स्थानीय पाठ्यक्रममा थारू संस्कृति समावेश गर्ने तथा समुदायको नेतृत्वमा डिजिटल अभिलेख निर्माण गर्ने काम महत्वपूर्ण छन् । साथै अट्वारीलाई सांस्कृतिक पर्यटनसँग जोड्दा पनि यसको धार्मिक तथा सामुदायिक स्वामित्व समुदायमै कायम रहनुपर्छ । कुनै जीवित संस्कृतिलाई केवल पर्यटकका लागि प्रदर्शन गर्ने वस्तुमा सीमित गर्नु हुँदैन ।

निष्कर्ष
अट्वारीलाई केवल एक दुइ दिनको व्रत वा धार्मिक पर्वका रूपमा बुझ्नु यसको वास्तविक अर्थलाई सीमित गर्नु हो । यो मिथक, धार्मिक विश्वास, प्रकृति, भोजन, नातेदारी, लैङ्गिक श्रम, सामुदायिक स्मृति र सांस्कृतिक पहिचानको संगम हो । भीम, दङ्गीशरण र बकासुरको आख्यानले विगतको स्मृति बोकेको छस उपवास र पूजा धार्मिक अनुशासन अभिव्यक्त गर्छन्ः एकतर्फी रोटी र भ्याँवाले मिथकलाई भौतिक संस्कृतिमा रूपान्तरण गर्छन्स आफन्तबीचको भेटघाट, भोजन र चेलीबेटीहरुसंगको पारिवारिक र सामाजिक सम्बन्ध सम्बन्धलाई पुनःसक्रिय बनाउँछस र नयाँ पुस्ताको सहभागिताले सांस्कृतिक पहिचानलाई निरन्तरता दिन्छ । यसैले अट्वारी केवल विगतको सम्झना मात्र होइन वर्तमानमा थारू पहिचानलाई पुनःनिर्माण गर्ने र भविष्यका पुस्तामा हस्तान्तरण गर्ने जीवित सांस्कृतिक प्रक्रिया हो । अट्वारीको संरक्षण भनेको एउटा पर्वको संरक्षण मात्र होइनस यो थारू समुदायको सांस्कृतिक स्मृति, मौखिक ज्ञान, सामाजिक सम्बन्ध र पहिचानको संरक्षण पनि हो ।

(लेखक लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा थारू कल्याणकारिणी सभा केन्द्रीय सचिवालय सदस्य हुन्)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित