लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

गुलरिया टोल विकास संस्था, घोराही दाङद्वारा आइतबार घोराहीमा आयोजित गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारू संवत् २६४९) को उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले कला र संस्कृति हाम्रो अमूल्य धरोहर भएकाले संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्नुभयो । यही उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री चौधरीले माघ पर्व थारू समुदायले पुस्तौँदेखि नयाँ वर्षका रूपमा मनाउँदै आएको पर्व भएको बताउँदै थारू कला, संस्कृति र खानपानको छुट्टै पहिचान र विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय नयाँ पुस्तामा थारू भाषा, कला र संस्कृतिको अभ्यास क्रमशः कम हुँदै गएकाले सबै मिलेर संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, थारू संस्कृतिलाई पर्यटनसँग जोडेर अघि बढाउन सकिने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । यस्तै मन्त्री चौधरीले थारू समुदायको नयाँ वर्ष थारू संवत् २६४९ तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गुलरिया टोल विकास संस्थाका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, घोराही १७ का वडा अध्यक्ष रामलौटन चौधरी, थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी, गुलर्याका मटाँवा रामप्रसाद चौधरी, बुद्धिजीवी जर्मन चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टोल विकास संस्थाका सल्लाहकार एवं शिक्षाविद् के.बी. चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष दहित र प्रेम चौधरीले गर्नुभएको थियो । महोत्सवमा ४० वटा मघौटा नाच प्रस्तुत गरिएको थियो । साथै, थारू परिकार ढिक्री, घोंघी, सुंगुरको मासु बिक्रीवितरणका लागि राखिएको थियो । त्यस्तै, थारू भाषा, साहित्य, कला, संस्कृति तथा इतिहाससम्बन्धी पुस्तक र थारू हस्तकलाको प्रदर्शनी तथा बिक्रीवितरण पनि गरिएको थियो ।


