लौव अग्रासन १८ औं वर्षमा

दाङको घोराहीबाट प्रकाशन हुँदै आएको थारू भाषाको साप्ताहिक पत्रिका ‘लौव अग्रासन’ १८ औं वर्षमा प्रवेश गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा २०६५ साल मंसिर २५ गते दर्ता भई निरन्तररूपमा प्रकाशन हुँदै आएको यो पत्रिका थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । नेपालमा विभिन्न नामका थारू पत्रिका प्रकाशनमा आए पनि निरन्तरता लिन नसकेको अवस्थामा ‘लौव अग्रासन’ भने स्थापनाकालदेखि नै नियमित रूपमा प्रकाशन हुँदै आएको एक मात्र थारू भाषाको साप्ताहिक पत्रिका हो । पत्रिकाका कार्यकारी सम्पादक सन्तोष दहितका अनुसार हालसम्म लौव अग्रासन साप्ताहिक ७७५ अंक प्रकाशित भइसकेका छन् ।

थारू भाषाका स्तम्भकारको अभाव, सामग्री उत्पादनको कठिनाइजस्ता चुनौतीका बावजुद पनि पत्रिकालाई निरन्तरता दिन सक्नु नै ठूलो उपलब्धि भएको दहितले बताउनुभयो । अग्रासनले थारू भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्दै आएको पत्रिकाको प्रधानसम्पादक केबी चौधरीले बताउनुभयो । यसैबीच पत्रिकाका प्रधानसम्पादक केबी चौधरी र कार्यकारी सम्पादक सन्तोष दहितले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘डिजिटलको युगमा छापा माध्यम आफैमा चुनौतीपूर्ण अवस्थामा रहेको छ, यस्तो परिस्थितिमा मातृभाषा र समुदायप्रति देखाइएको माया, सद्भाव र उत्प्रेरणाले हामीलाई थप ऊर्जा मिलेको छ । आगामी दिनमा पनि तपाईंहरूको सहयोग र रचनात्मक सल्लाह प्राप्त भइरहोस् भन्ने अपेक्षा गर्दछौं ।’

पत्रिकाले आफ्नो अनलाइन संस्करण www.agrasankhabar.com पनि ल्याएको छ । उक्त अनलाइन मार्फत् थारू भाषालाई थप प्रभावकारीरूपमा प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ । हालै प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको पत्रिका वर्गीकरणमा लौव अग्रासन साप्ताहिक ‘स्थानीय ख’ वर्गमा परेको जानकारी पनि अग्रासनले दिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित