ग्रामीण महिला उत्थान केन्द्रको वार्षिकोत्सवमा ३६ पिन्ट रगत सङ्कलन

ग्रामीण महिला उत्थान केन्द्र दाङले आफ्नो ३१ औँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाएको छ। वार्षिकोत्सवकै अवसरमा केन्द्रले घोराहीमा आयोजना गरेको रक्तदान कार्यक्रममार्फत ३६ पिन्ट रगत सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाइटी घोराहीका अध्यक्ष थम्मन चौधरीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, शुभेच्छुकलगायत ३६ जनाले रक्तदाता गरेको संस्थाकी सूचना अधिकारी पार्वती बस्नेतले बताउनुभयो।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले रक्त अभाव भइरहेको समयमा केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको कार्य प्रशंसनीय भएको बताउनुभयो । “रक्तदान भनेको जीवन दान सरह हो,” उहाँले भन्नुभयो, “यसमा सबैले हातेमालो गर्नुपर्छ। प्रत्येक स्वस्थ नागरिकले समाजको सेवाका लागि रक्तदान गरेर सहयोग गर्नुपर्ने आवश्यकता छ।”

संस्थाको कोषाध्यक्ष मीरा चौधरीको अध्यक्षतामा सम्पन्न  भएको कार्यक्रममा खेलकुद विकास समिति घोराहीका संयोजक नरेन्द्र पुन, रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज दिलीप न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थम्मन चौधरीलगायत वक्ताहरूले रक्तदानको महत्त्व र समाजमा केन्द्रले पुर्‍याउँदै आएको योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रम संस्थाकी सल्लाहकार रजनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

२०५० सालमास्थापना भएको ग्रामिण महिला उत्थान केन्द्रले शुरुदेखि नै ग्रामीण क्षेत्रका महिला, भूमिहीन, दुर्गम तथा सीमान्तकृत समुदायको अधिकार र जीवनस्तर उकास्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आर्थिक सशक्तिकरण, शिक्षा, स्वास्थ्य, कृषि, आवास तथा सामुदायिक विकासका क्षेत्रमा केन्द्रले काम गर्दै आएको संस्थाकी संस्थापक अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो ।  “संस्थाको नेतृत्व स्थापना कालदेखि अहिलेसम्म महिलाले नेतृत्व गर्दै आएका छौं उहाँले भन्नुभयो,  त्यसैले महिला सशक्तीकरण र सामाजिक रुपान्तरणका सवालमा  निरन्तर रूपमा समुदायसँग हातेमालो गर्दै अगाडि बढिरहेको छौं ।”

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित