मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ ।

मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभयो ।

प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभयो । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारू, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभयो ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित