आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङ क्षेत्र नं. २ का सूर्य ध्वजावाहक उम्मेदवार शंकर पोखरेल विहान सबेरैदेखि नै मतदातासँग निरन्तर भेटघाटमा व्यस्त रहँदै आउनुभएको छ । नेकपा (एमाले) का महासचिव समेत रहनुभएका पोखरेल विगत केही दिनदेखि विहान साढे ५ बजेदेखि नै विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग आत्मीय भेटघाट गर्दै, संवाद र स्वास्थ्य अभ्यासमार्फत जनसम्पर्क विस्तार गरिरहनुभएको छ ।

पोखरेल कहिले मोर्निङ वाक स्थलमा पुगेर मतदाताहरूसँगै रमाइलो नाचगान र हिँडडुलमा सहभागी हुनुहुन्छ भने, कहिले योगा स्थलमा पुगेर योगाभ्यासमा समेत सरिक हुदै आइरहनुभएको छ । उहाँले स्वास्थ्य, आत्मीयता र संवादलाई राजनीतिक अभ्याससँग जोड्दै मतदाताहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्ने नयाँ शैली अवलम्बन गर्नुभएको हो । पोखरेलको यस फरक जनसम्पर्क शैलीले चुनावी माहोलमा नयाँ ऊर्जा थपेको छ । विहानको समयमा शारीरिक व्यायाम, योगा र नाचगानमार्फत मतदातासँग प्रत्यक्ष रूपमा घुलमिल हुने र आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्ने शैलीले जनतामा उत्साह र जिज्ञासा पैदा गरेको देखिन्छ । उहाँले विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा स्वास्थ्य जीवनशैली र सकारात्मक सोचको महत्वबारे पनि जोड दिनुभएको छ ।

पोखरेलले विहानीपख हुने योगा र मोर्निङ वाकलाई स्वस्थ जीवनको मूल आधारका रूपमा व्याख्या गर्दै भन्नुभयो, “स्वस्थ शरीर र सकारात्मक सोच बिना सशक्त समाज निर्माण सम्भव हुँदैन ।” उहाँले मतदातालाई आफ्नो व्यक्तिगत स्वास्थ्यसँगै सामूहिक सामाजिक उन्नतिमा पनि सरोकार राख्न आग्रह गर्नुभयो । चुनावी प्रचारप्रसारमा अपनाइएको यो फरक शैलीबारे बयाला डाँडा चौतारी क्लब दाङका अध्यक्ष नारायण भुसालले भन्नुभयो, “पोखरेलज्यूले अपनाउनुभएको यो शैली साँच्चै प्रेरणादायी छ । उहाँले स्वास्थ्य, आत्मीयता र राजनीतिक विचारलाई एउटै प्लेटफर्ममा ल्याएर जनताको मन जित्नुभएको छ ।” भुसालका अनुसार, यस नयाँ अभ्यासले मतदातासँगको सम्बन्ध बलियो बनाउदै निर्वाचन अभियानमा नयाँ उत्साह र सन्देश पनि भरेको छ । यसरी विहानको ताजा हावा, योगा र संवादको वातावरणमा पोखरेलले जनसम्पर्क विस्तार गर्दै मतदाताको समस्या सुन्ने, आफ्ना एजेन्डा बुझाउने र आत्मीयताको सम्बन्ध सुदृढ पार्ने थप सहयोग पुगेको छ ।


