थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् ।

अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई थारू समुदायले पहिलादेखि अट्वारी मान्दै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते परेको थारु संस्कृतिविद् अशोक थारूले बताउनुभयो । ‘‘थारु समुदायको चाडपर्वमा तिथि मिति उल्लेख गरिएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘पहिलाका पुर्खाहरुले अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात (ओजरिया पहिला अट्वार) अट्वारी मनाइँदै आउनुभएको थियो, अहिले पनि त्यही नै हो ।’’
थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्षसमेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते अट्वारी भएको बताउनुभयो । उहाँले अष्टिमी पछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताउनुभयो । यस्तै लेखक छविलाल कोपिलाले पनि अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाउने प्रचलन भएकाले यसवर्षको अट्वारी भदौं ८ गते अट्वारी परेको बताउनुभयो ।
थारू समुदायको पुरुषहरुले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् । दाजुभाइहरुले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि व्रत बसी बेलुकी ५ बजेतिर भीमको पूजा गर्ने गर्दछन् ।
सुदूरपश्चिम प्रदेशले पनि भदौ ८ गते अट्वारीको सार्वजनिक बिदा दिएको छ । यसअघि भदौ १५ गते बिदा दिइने भनि उल्लेख भए पनि अट्वारी एका साता अगाडि परेकाले प्रदेश सरकारले बिदा संशोधन गरेर भदौ ८ गते बिदा दिएको हो ।
लुम्बिनी प्रदेशले पनि हरेक वर्ष अट्वारीमा थारू समुदायलाई एक दिन सार्वजनिक बिदा दिँदै आएको छ । सोही आधारमा लुम्बिनी प्रदेशले पनि भदौ ८ गते बिदा दिने तयारी गरेको छ । लुम्बिनीको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत जिल्लामा बस्ने थारू समुदायले विशेष रुपमा अट्वारी मनाउने गर्दछन । अट्वारीमा गहुँ, चामल र अनदी चामलको पिठोको विभिन्न थरीथरीका रोटीको परिकार बनाएर र फलफूलसहित खाने गर्दछन् । आफूले खानु अगाडि भीमको नाममा अग्निमा गहुँ, चामलको रोटी, फलफूल चढाएर जलले पूजापाठ गर्ने र आफ्नो भागमा रहेको केही भाग आफ्ना दिदी बहिनीहरुको लागि निकाले बल्ल खाने चलन छ ।
त्यस्तै अट्वारीको दोस्रो दिन पनि पहिला दिन जस्तै भात, तरकारीहरु मुछेर अग्नीमा चढाउने मोही र जलले पूजाअर्चना गरिसकेपछि आफ्नो भागबाट दिदीबहिनीलाई छुत्याएर ब्रतालुहरुले खाने गर्दछन् । ब्रतालुहरुले आफ्नो भागबाट निकालेको रोटी, फलफुल तथा अन्य परिकारसहित आफ्नो दिदीबहिनीहरुलाई अग्रासन (कोसेली) को रुपमा दिने गर्छन् । जसलाई थारू समुदायमा अग्रासन भन्ने गर्छन् ।
अट्वारी पर्व मनाउने एउटा ऐतिहासिक घटनासँग जोडिएको थारू अगुवाहरु बताउँछन् । लेखक एवम् साहित्यकार छविलाल कोपिलाको अनुसार प्राचिनकालमा दाङका थारू दंगिशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङक थारू राजा दंगिशरणबिच लामो घनिष्ठ थियो । यहि बिचमा पाँच पाण्डव र दौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए । त्यहि क्रममा दंगिशरण राजाको दरबारमा शत्रुहरुले आक्रणम गर्न लागेको थाहा पाएपछि भीमले आफूले खानको लागि तावामा पकाउँदै गरेको रोटी छोडेर भीमले भोकै पेटमा दंगिशरणको पक्षमा लड्न आए । दंगिशरणको पक्षमा लड्न आएका भीमले विजय हासिल गरेका थिए । संयोगवश उक्त घटना आइबार परेको थियो । त्यही मान्यता र विश्वासको आधारमा भीम जस्तै बलियो भइन्छ भनेर थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।



