भाषा, संस्कृति प्रवद्र्धनका लागि थारु युवालाई तालिम

थारु युवापुस्तामा समुदायको भाषा, संस्कार, परम्परा तथा पौराणिक विषयप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरणमा दुईदिने तालिम सञ्चालन गरिएको छ ।

पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आर्थिक सहयोग तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, दंगीशरणको सहआयोजनामा थारु युवाहरुलाई भाषा, संस्कार, परम्परा र पौराणिक विषयसम्बन्धी तालिम प्रदान गरिएको हो । थारु सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीका अनुसार तालिममा थारु संस्कार, इतिहास, परम्परा, वेशभूषा, कला तथा सांस्कृतिक मूल्यमान्यताका विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो ।

आधुनिकतासँगै परम्परागत ज्ञान र अभ्यास ओझेलमा पर्दै गइरहेका बेला थारु समुदायको मौलिक लोककला, संस्कार र संस्कृतिसँग युवाहरुलाई जोड्ने उद्देश्यले तालिम आयोजना गरिएको पर्यटन डिभिजन कार्यालय, कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेयले बताउनुभयो । उहाँले यस तालिमले थारु समुदायको मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा जिल्लाभरबाट छनोट गरिएका ४० जना थारु युवायुवतीहरूको सहभागिता रहेको थियो । सहभागी शान्तिनगर–६ की अनिमा चौधरीले तालिमबाट थारु भाषाको ठेट शब्द प्रयोगदेखि मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान हासिल गरेको बताउनुभयो ।

तालिममा डा. गोविन्द आचार्य, थारु संस्कृतिविद् अशोक थारु, पत्रकार सन्तोष दहित, गजेन्द्र बोहरा, गोपाल शर्मा भट्टराई ले थारु भाषा, संस्कार, परम्परागत संस्कृति, इतिहास, वेशभूषा तथा गहनासम्बन्धी विषयमा लेखन तथा अनुसन्धानबारे सहजीकरण गर्नुभएको थियो ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित