अलपत्र अवस्थामा थारु नमुना ग्राम

छवि पुरी
घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँमा रहेको ‘थारु नमूना ग्राम’ प्रयोगविहिन भएपछि नाम मात्रको ‘नमूना’ बन्दै गएको छ । तत्कालीन जिल्ला विकास समिति, दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारु गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घरहरु प्रयोग विहिनमात्रै छैन, जीर्ण पनि बनेका छन् । २०६५ साल चैत्रमा ३ लाख १५ हजार रुपैयाँ खर्च गरेर बनाईएका ती घरहरु अहिले थोत्रिएर, छानो चुहिने, भित्ता मक्किएका तथा बेवारिसे अवस्थामा पुगेका छन् ।

थारु बाहुल्यता रहेको सिसहनियाँ गाउँको दक्षिणतिर बबई नदी छ । छेवैमा सामुदायिक वन क्षेत्र छ । त्यसैको आडमा लस्कर लगाएर बनाइएको छन्, थारु रहनसहन र परिवेश झल्कने उत्तर दक्षिण फैलिएका घरहरु । १३ दश वर्ष पहिले थारु समुदायको संस्कार, संस्कृतिको संरक्षण र पर्यटकहरुलाई आकर्षण गर्दै अध्ययनको थलो बनाउने र त्यहाँको पहिचान प्रचार प्रसार गर्ने उद्देश्यले केवल भनाईमा मात्रै हुने अवस्थामा पुगेको छ । नमूना थारु घरहरु संरक्षणको अभाव र उचित रेखदेख अभावमा अलपत्र परेका छन् । जिल्ला विकास समिति दाङले स्थापना गरेको नमूना थारु ग्राममा अपर्याप्त सहयोग र सम्झौता अनुसार कार्यान्वयन हुन नसक्दा जीर्ण अवस्थामा आईपुगेको स्थानीय बताउँछन् ।

शुरुवाती चरणमा नमुना थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, बालविकास केन्द्र, थारु संग्राहलय, उद्यानलगायत स्थापना गर्ने सम्झौता भएपनि ती कुरा केवल भनाईमा सिमित हुँदा नमुना थारु ग्राम अलपत्रको अवस्थामा आईपुगेको नमूना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरीले जानकारी दिए । थारु सँस्कृतिक झल्काउने विभिन्न थारु नाचको लागि थारु पहिरन भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिचाई, विद्युत, जीवनशैली झल्कने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने बस्तुहरुलगायतको व्यवस्था गर्ने सम्झौता भएको चौधरीले बताए । उनले भने, ‘शुरुमा हामीले निकै उत्साहका साथ यसको संरक्षण र विकासका लागि मेहनत गर्यो तर अझैसम्म थारु परम्परागत थारु घर र थारु नाचको लागि नाच्ने थारु पहिरन र मादल बाहेक अरु केहि सहयोग कार्यान्वयन हु्न सकेन, अनि कसरी काम हुन्छ ।’

परम्परागत थारु संसकृति झल्कने घर बनाउने कुरा पनि यस्तै भएको बताउँदै उनले बनेर पनि जीर्ण अवस्थामा उभिएका थारु घर नाम मात्रको रहेको बताए । आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमुना थारु ग्राम स्थापना हुनु सिंगो थारु समुदायका लागि गर्वको कुरा भएपनि सम्झौता अनुसार काम हुन नसक्दा दुःख लागेको चौधरीले गुनासो पनि गरे । संरक्षणका लागि बजेट अभाव र थारु समुदायका व्यक्तिहरुकै चासो नहुँदा पनि नमूना थारु घरहरु जिर्ण र बेवारिसे अवस्थामा पुगेको छ । उनले भने, ‘सरकारले सहयोग गरे पनि हाम्रा समुदायले पनि महत्व बुझेनन् । हामी बुढापाकाले के गर्ने रु युवाहरु सबै विदेश र बजार ताक्छन् । यो घर कसले स्याहारी देओस् र सबैले हेर्न लायक बनोस् ।’

पहिले पहिले यसका बारेमा चासो राख्नेहरु आउने र बुझेर जाने गरेकोमा केही वर्षयता नमूना थारु ग्राम हेर्न भन्दै कोही पनि जाँदैनन् । वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीले पनि जुन उद्देश्यले बनाइएको हो त्यही ढंगको संरक्षण हुन नसक्दा अहिले अलपत्रको अवस्थामा आईपुगेको बताए । सिसनियाँमा थारु नमुना ग्राम छ भनेर प्रचार भयो, त्यहि अनुसार विभिन्न ठाउँबाट पर्यटक पनि आए तर भनेको जस्तो नहुँदा पर्यटकहरु निरास भएर फर्किएपछि बिस्तारै सबैको चासो कम हुन गएको उनले बताए । यसको संरक्षण गर्न भन्दै वडाबाट बजेट विनियोजन नभएपनि पालिकाले अघिल्लो वर्ष विनियोजन गरेको बजेट पनि कार्यान्यवन हुन नसकेको बताए ।

यस्तै, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी थारु ग्रामलाई सबैले उत्थान गर्नुपर्ने बताउँछन् । एउटा जाति सँग जोडिएको भए पनि यो साझा सम्पत्ति भएको बताउँदै साझा सम्पत्तिलाई बचाउने र उत्थान गर्न सबैले अग्रसरता लिनुपर्ने धारणा राखे । अवलोकनका लागि आएका आगन्तुकलाई घोंगी, माछा, माड, जाँड, स्थानीय कुखुराको मासु अनि विभिन्न अचार र तरकारीलगायतका परिकार खुवाएर पठाउने परिकल्पना पनि बनाइएको थियो । छेवैमा रहेको बबई नदीलाई आधार बनाएर रिसोर्ट बनाउने, बाल उद्यान बनाउने, थारु घरहरु मौलिक शैलीमै निर्माण गर्ने भनिए पनि सम्बन्धित समुदायको चासो कम हुनु र सरोकार निकायले ध्यान नदिँदा सार्वजनिक सम्पत्ति अहिले घर न घाटको अवस्थामा पुगेको छ ।

करिव २ सय बढी घरधुरी संख्या रहेको सिसहनियाँमा थारु समुदायमा थारु संस्कृति, भेषभुषा र परम्परा बिस्तारै लोप हुने खतरा पनि बढेको छ । नयाँ पुस्ता आधुनिक संस्कृतिमा भुलिरहेका बेला सिसहनियाँको पुरानो पुस्ता भने आफ्नो जातीको पहिचान हराउँदै गएकोमा पुराना पुस्ता भने चिन्तित छन् । हाल दुई वटा घरमा सुकुम्बासीहरुलाई रेखदेखका लागि बसालिएको छ । पाहुनालाई बसाल्ने र आफ्नो संस्कार संस्कृितका बारेमा जानकारी गराउने उद्देश्यले बनाइएका घरमा बस्नेहरुले सुंगुर पालेका छन् । त्यसैले ती घरमा बाहिरका मानिसहरु नपसेको धेरै भैसकेको छ ।

उता, घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा सो क्षेत्रको डिपीआर तयार पार्न भन्दै ५ लाख बजेट विनियोजन गरेको थियो । तर, डिपिआरको काम हुन नसक्दा बजेट फ्रिज गयो । यो वर्ष भने पालिकाले कुनै शीर्षकमा बजेट छुट्याएको छैन । ‘पालिकाले दिएको बजेट पनि कार्यान्वयन हुन सक्दैन, त्यसैले यो वर्ष त्यहाँको लागि बजेट राखिएन,’ प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने ।

करीव ५ विगाहा क्षेत्रफल नमूना थारु ग्रामको नाममा रहेको छ । बनाइएको थारु संग्रहालय भने करीव १ बिगाहामा रहेको छ । जीर्ण अवस्थामा उभिएका घरमा मिथिलाकला शैलीमा बनाईएका विभिन्न जनावर र औजारहरुको कलाकृति देख्न पाईन्छ । तर, कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा कसैको गम्भीर रुपमा ध्यान जान सकेको छैन । जसले गर्दा अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित