कोरोना कहर र नेपाली चेत

सुशील चौधरी

चीनको बुहानमा डिसेम्बर, २०१९ मा पहिचान गरिएको नोवल कोरोना भाइरस सुरुमा चीनको बुहानमा गइरहेको अर्थतन्त्रको ढाड सेक्ने अचुक अस्त्रका रुपमा लियो पश्चिमाहरुले । कोरोना भाइरस, नेपालमा केही समय रमाइलो जोक्स बन्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त चाइनिज भाइरस नामाकरण गरेर चीनको दोहोलो काढे । शनै शनै कोरोना भाइरस (कोभिड -१९) नामाकरण भएर विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले विश्वलाई आएको चुनौति सार्बजनिक गरेको थियो । चीनले आफूलाई सचेत, जागरुक र प्रविधियुक्त बनाउँदै डटेर सामना गर्दैथियो । उता बाँकी संसार अन्योलमा थियो । तर इटली र स्पेन लगायत युरोपका देशहरुमा फैलन थालेपछि, भटाभट लकडाउन लगाउन गर्न थाले । त्यसै शिलशिलामा नेपालमा पनि त्यो हावा आइपुग्यो । नेपाल सरकारले २०७६ चैत्र ११ देखि देशब्यापी रुपमा लकडाउन ( बन्दाबन्दी) घोषणा ग¥यो । नेपाल सरकारले बन्दाबन्दी घोषणा गर्दा अत्यन्त संवेदनशील अवस्था थियो । पाँच लाख विद्यार्थीहरुले वर्षभरी तयारी गरेर बसेको अवस्थामा लकडाउनको कारण परीक्षा दिन पाएनन् ।


त्यसपछिका नियति त हामी सबैले भोगिरहेकै छौं, कोरोनाका कारण देश कसरी मारमा परिरहेको छ, आर्थिक विषमता, सामाजिक बेमेल र साँस्कृतिक परिवेशमा आएको सङ्कुचनको लेखाजोखा गर्न त्यति सहज छैन । धेरैले कपाल र दारी काट्न पाएनन्, लुक्स नै फेरिएका छन् । विद्यार्थीहरु विद्यालय, कलेज, विश्वविद्यालय जान नपाएर शैक्षिक विकासमा ठूलो क्षति व्यहोरिरहेका छन् । हालको परिवेश हेर्दा यस्तो लाग्छ, यस वर्षको शैक्षिक सत्र नै पो कोल्याप्स हुने हो की रु खेलकुद, सिनेमा लगायत सामाजिक तथा साँस्कृतिक गतिविधिहरु सुचारु हुन नसकेकोले समाज विकासमा भइरहेको बाधाको समीक्षा भइरहेको छ ।


नेपाल सरकारले ठूलो उत्साहका साथ घोषणा गरी सुरुवात गरेको अति महत्वाकांक्षी नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम स्थगत गर्न बाध्य हुनु प¥यो । संवृद्ध नेपाल, सुखी नेपाली जस्तो लोकप्रिय नारा सहित नेपालको विकास अभियानको अगुवाई गरिरहेको नेपाल सरकारको योजना धेरै हेराफेरी गर्नु परेको छ । बन्दाबन्दी पछि सार्वजनिक यातायात ठप्पप्राय छ, यसले अर्थतन्त्र र रोजकारीमा कति असर गरेको होला अनुमान गर्न कठिन छैन ।
नेपाल सरकारले कोरोना रोकथाामका लागि आफूले सकेको गरिरहेको दावी गरिरहेको छ । चार महिनासम्म स्थीर रहेको कोरोना संक्रमण र मृत्यु हुनेको संख्या पाँचौ महिनमा आएर ह्वात्तै बढेको छ । हाल सम्म ५२ हजारको संख्यामा संक्रमितहरु भइसकेका छन् भने ३ सय ७९जनाको मृत्यु भइसकेको छ । प्रदेश र स्थानीय सरकारले कारेन्टाइन व्यवस्थापन गरिरहेका छन् । पिसिआर र आरडिटि चेकजाँच गर्ने कार्य पनि भइरहेको छ। स्वास्थ्यविज्ञहरुका अनुसार नेपालमा कोरोना तेसे चरणमा पुग्न थालेको भनिएको छ। समुदाय चरणमा प्रवेश गरेकोले अति कठिन अवस्था आउन सक्ने आंकलन गरिएको छ ।


सुरुवाती दिनमा मजदूर, मुक्त कमैया, विपन्न परिवारलाई राहत वितरण गरिएपनि अबको अति आवश्यक अवस्थामा भने रााहत उपलव्ध हुन सकिरहेको छैन । अस्पतालहरुमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि अस्तालहरु शील हुनाले नियमति विरामीहरुले उपचार नपाउन सक्ने अवस्था बन्दैछ । यति मात्र होइन, संक्रमितहरुको पारिवारिक र सामाजिक बहिष्कार अर्को भयावह प्रवृति देखिन थालेका छ ।


वर्षायाममा बर्षेनी व्यहोरिने बाढी पहिरोको समस्या थप कहर बनेको देखिन्छ । सार्वजनिक उपस्थितिलाई निषेध गरिएकोले भर्चुअल बैठक, अन्तरक्रियाका माध्यमले संवादहीनतालाई तोड्ने प्रयास भइरहेको छ । तर सीमिति गतिविधिहरुले आम रुपमा समुदायमा सूचना प्रवाह हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण सिजनमा पाउनु पर्ने किसानका लागि मल अभाव अर्को विकराल समस्याका रुपमा देखिएको छ। वित्तीय संस्थाहरुको गतिविधिमा आएको संकुचनले आर्थिक विश्रृखलाता आउन सक्ने सम्भावना त्यत्तिकै छ ।


यस्तो सङ्गीन घडीमा स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, जनप्रतिनिधिहरु र आम नागरिक समाज र मिडियाले खेलिरहेको भूमिकाको सराहना गर्नै पर्दछ । नेपाल सरकारले यति चुनौतिपूर्ण अवस्थामा नेपालको राष्ट्रिय अखण्डताको पक्षमा आफूलाई उभ्याएको छ । यस सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर नेपालको नयाँ राजनैतिक नक्शा जारी गरेको छ । नेपालका सबै पार्टीहरुले एकमतले सरकारले सार्वजनिक गरेको नक्शाको समर्थन गरेका छन् । सार्वभौम संसदले नेपालको नक्शासम्बन्धी संविधानको अनुसूचि संशोधन कार्य ऐतिहासिक रुपमा सम्पन्न गरेको छ । त्यस पछि भारतसंगको संवादहीनता भारतको स्तन्त्रता दिवसको दिन (१५ अगष्ट) मा टुटेको छ । सम्माननीय प्रधानमन्त्री के।पि। शर्मा ओलीले आफ्नो कार्यकालमा नै गुमेको भूभाग प्राप्त गर्ने बताएका छन् ।


विवादको चुचुरोमा रहेका मिलिनियमन च्यालेन्ज कर्पोरेशन ( एमसिसि) हाललाई टरेको छ । यसै अवधिमा राष्ट्रिय सभाको एक तिहाई सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ । कोभिड १९ ले सरकारी, गैरसरकारी र नीजि क्षेत्रको गतिविधिहरुलाई प्रभावित गरेको छ। कोरोना हरेकका लागि पहिलो सवाल र सन्दर्भ बनेको छ ।


२०७२ सालको महाभूकम्प पछिको चार वर्षमा आम जनजीवन, प्रभावित पार्नेगरी फैलिएको कोरोना भाइरस एक्काइशौ शताब्दीको भयंकर महामारी भएर आएको छ । विभिन्न देशहरुले कोरोना विरुद्धको भाइरस बनाएको दावी गरेपनि आम प्रयोगमा आउन सकेको अवस्था छ्रन । अझ दुई वर्षसम्म प्रभाव रहने अनुमानका कारण पनि आम त्रास व्याप्त छ ।


पहलो विश्वयुद्धकै बेलामा युरोपमा व्याप्त स्पेनिस फ्ल्युले ५ करोड व्यक्तिको ज्यान लिइको थियो । बिफर, मलेरिया, हैजा, इन्सेफ्लाइटिस, म्यानेन्जाइटिस, स्वायनफ्ल्यु लगायतका धेरै रोगका कारण लाखौलाख नेपालीको ज्यान गएको छ । जनस्वावस्थ्यको सन्दर्भमा नेपालको प्रगतिलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । सहश्राब्दी विकास लक्ष्यका अनुसार, नेपालले लक्ष्य पुरा गरेको थियो । मिजल्स क्याम्पेनमा पनि नेपालले सफलता प्रापत गरेको थियो । कोरोना विरुद्ध पनि हामीलाई सफलता प्राप्त हुने आशा गरौं ।


यसका लागि सत्तापक्ष, प्रतिपक्ष, सरकारी र गैरसरकारी पक्ष, नीजी क्षेत्र, सार्वजनिक क्षेत्र, र आम नागरिकहरुको सहकार्य र हातेमालो अझ कसिलो हुन आबश्यक छ । जनस्वास्थ्यको सवाल सार्वजनिक सवाल भएकोले मिलेर कोरोना विरुद्ध लड्नुको विकल्प छैन । अरुलाई धारेहात लगाएर, समस्याको समाधान हुने होइन, समुद्रमा तैरिरहेको डुंगामा छिद्र परेपछि कसैले प्वाल टाल्ला वा नाउमा भरिएको पानी फाल्ला भनेर बस्नेहो भने, डुंगा डुब्दा सबैनै साथसाथै डुबेर समाप्त हुने अवस्था आउने हुन्छ । हाम्रा ठूला छिमोकी देश चीन र भारतमा देखिएको संक्रमण र विश्वव्यापी प्रभावको तुलनामा न्युन असर देखिए पनि भोलीको दिनमा आउनसक्ने भयावह अवस्थाबाट बच्न पनि सबै सरोकारवाला पक्षहरु सचेत, सजग र संगठित भएर जुर्मुराउनु पर्दछ ।


सरकारले ल्याएका नीति, तथा कार्यक्रम र संरचनालाई सघाउनु पर्दछ । व्यवस्थापनमा आवश्यक सिर्जनशील शैली अपनाउँदै लामवद्ध हुनु पर्दछ । किनाराको साक्षी भइ, मुकदर्शक हुने अवस्था होइन यो, आफू, आफ्नो परिवार, छिमेक, गाउँ, समुदाय, पालिका, जिल्ला, प्रदेश र देशव्यापी रुपमा आफ्नो तह र तप्कामा खट्न जरुरी छ । कोभिड १९ तमाशा होइन, यो चटकेले जादु टुना लगाएर फुमन्तर गरेर भाग्ने कुरा पनि होइन। यो आम जनस्वास्थ्य समस्या हो, त्यसैले अफवाहको पछि नलाग्ने, कसैलाई लाग्न नदिने र स्थापित स्वास्थ्य अनुभवका आधारमा अनुशासित भएर सामना गर्नुको विकल्प छैन । मानवताको रक्षाका लागि हातेमालो गरौं, कोराना विरुद्ध उभिऔं।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित