मेरो खुशी : एक दर्जन कपी…

कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’

इन्द्र डिसी

उमेरको ‘ग्राफ’ उक्लिँदै थियो । त्यही बढ्दो ग्राफभित्र घोराही उपमहागरपालिका १६ का भुवन चौधरीले पहिलो खुसी फेला पारे, त्यो पनि एक दर्जन कपी, पेन्सिल र किताबमा । मिति एकिन छैन । तर ६ कक्षाको वार्षिक परीक्षाफल । अन्य कक्षामा पनि राम्रो नै थियो, रिजल्ट । तर ६ कक्षामा भने प्रथम नै भए । ‘कक्षा प्रथमसँगै विद्यालयले एक दर्जन कपी, पेन्सिल र ७ कक्षाको किताबसँगै ठूलो मान्छे बन्नु भनेर विद्यालयका गुरुबाट आशीर्वाद’, उनले भने– ‘त्यो नै जीवनको पहिलो खुसी हो ।’ गरिखाने परिवार । पढ्नलाई पनि त्यति सहज थिएन ।

तर पढ्ने इच्छा सगरमाथाजस्तै अग्लो थियो । ‘त्यो पुरस्कारले झन उत्साह थप्यो, विद्यालयमा गुरुहरुको प्रिय र साथीभाइहरुसँगको सम्बन्ध नजिक मात्र होइन पढाईको राजमार्ग नै फराकिलो बनायो’, उनले भने । सीमित कपी, पेन्सिल र डटपेन किनेर पढ्दै आएको मैले एकैपटक त्यति धेरै त्यो पनि किताबसँग पाउँदाको खुसीको मापन गर्न सक्ने अवस्था नै थिएन । ‘त्यो खुसीको मापन गर्ने मेजरमेन्ट यो आधुनिक विज्ञानले आविस्कार गरेको छैन । छ त केवल त्यो बेलाको खुसीको अनभूति मात्र छ’, उनले भने ।

नेपाली नागरिक भएको प्रमाण बोल्ने नागरिकताले ४२ वर्ष लगाइदिएको छ । यो सयमसम्म आउँदा उनको जीवन धेरै सरल रेखामा नै छ । त्यो उनलाई बुझ्नेहरु पनि त्यो नै भन्छन् । तर उनी भन्छन्– ‘जीवनमा सरल र बक्ररेखा दुवै छन् । सरल रेखा सबैले देख्छन् तर बक्र रेखा कमैले देख्छन् । स्वयले भोग्ने हो । दोस्रो खुसी उनले लखनौको विवेकानन्द अस्पतालमा प्राप्त गरे । त्यो आमासँग । आमा लामो समयसम्म बिरामी हुनुभयो । नेपालका धेरै ठाउँमा चेकअप गराउने काम भयो । तर निको भएन । धेरैको सल्लाह अनुसार लखनउ विवेकानन्द अस्पताल लगियो । डाक्टरलाई देखायौं । अल्सर भएको छ । अप्रेशन गर्नुपर्छ । तर अप्रेशन नगर्ने औषधिले नै निको बनाउने सोच हाम्रो । अप्रेशन महंगो थियो ।

तर पैसा थिएन । अस्पतालको बसाई लामो भइसकेको थियो । भएको पैसा पनि सकिन लागेको थियो । सबै अन्योल र चिन्तामा थियौ । फेरि डाक्टरले रिपोर्ट हेर्ने भन्यो । त्यो अनुसारको चेकजाँच भयो । रिपोर्ट सुधारोन्मुख आयो । डाक्टरले रिपोर्ट हेरेर भन्यो ‘अब अप्रेशन गर्नु पर्दैन । बिरामीको सुधार भएको छ । घर लगेर जान सकिन्छ । ‘त्यो समयमा निकै खुसी भएको थियो । सायद त्यो बेला मेरो मात्र होइन आमाको अनुहारमा बेग्लै खुसी देखेको थिएँ’, उनले भने– ‘त्यो खुसी अझै ताजै छ ।’ उमेरको बढ्दो ग्राफसँगै तेस्रो खुसी उनले विवाहपछिको पहिलो सन्तान प्राप्तिमा भेटे । पहिलो सन्तान छोरी नै होस भन्ने दुवैजना (बुढा–बुढीको) को चाहना । संयोग पनि त्यसै २०६४ फागुनमा पहिलो सन्तान प्राप्ति भयो । त्यो पनि आफूहरुले चाहेकै छोरी । साविकको महेन्द्र अस्पताल । प्रसूति बेडमा उनी । म चाहिँ बाहिरै । छटपटीको तापक्रम बढेकै थियो । त्यो बीचमा छोरीको जन्म भएको खबर चिकित्सकले दिए । त्यो अर्को खुसीको क्षण हो ।

घर नजिकैको स्कुलबाट उनले औपचारिक शिक्षा प्रारम्भ गरे । दौडेर १० मिनेट । सुस्त–सुस्त हिडेमा बढीमा २० मिनेट । त्यहाँबाट शुरु भएको उनको औपचारिक शिक्षा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयसम्म पुगेको छ । उनले त्यो विश्वविद्यालयबाट एमफिल पूरा गरेका छन् । २०६६ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा मास्टर सकेका थिए । उच्च शिक्षासँगै जागिर र पढाई उनको जीवनमा घाम–छायाँजस्तै छ । कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’ २०६९ सालमा अध्ययनको लागि विश्वविद्यालयमा फारम भरेको थिएँ । फारम त भरे तर आश मारिसकेको थिए । फारम भरेको लामो समय भइसकेको थियो । फारम भर्दा गाउँकै ठेगाना लेखेको थिए । संयोग म त्यो बेला गाउँमै बस्दै आएको थिएँ । हुलाकीले मेरो नामको चिठी दियो । खोलेर हेर्दा आफू छानिएको रहेछु । ‘त्यो चिठी पढ्दा साँच्चै आनन्दको खुसी प्राप्त भएको थियो’, उनले भने– ‘विद्यार्थी भएको त्यो बेला महसुस भयो ।’

सूचना तथा सञ्चार प्रविधिको पहँुच क्रमशः बढ्दै थियो । उनको प्रेमको ग्राफ पनि बढ्दै थियो । घरमै सिडिएमए फोन । अहिले जस्तो हात–हातमा मोवाइल, फेसबुकको जमाना थिएन । फोन गर्नको लागि पनि कुनै ठाउँको नम्बर दिनुपर्ने । त्यही गरेर पनि उनी दुबैले मायामा मलजल गरिनै राखे । पहिलो भेट एकिन छैन, तर विद्यार्थीकालमै हो । थारु विद्यार्थी वा अनेरास्ववियुको अभियानमा नै भेट भयो । त्यही पहिलो भेट नै प्रेमको गोरेटो भयो । त्यही गोरेटोमा हिँड्दै २०६४ बैशाख ५ गते तुलसीपुर उपमहानगरपालिका ८ वटवलपुरबाट सुलोचना चौधरीलाई घरमा भित्र्याएँ । त्यो पनि जीवनको अर्को खुसी हो । दुवैले कोरेको प्रेम गोरटो रंगीन नै छ । विवाहअघिको प्रेम कति थाहा नपाएर पनि भयो । तर पछिको प्रेम थाहा पाएर नै गरिन्छ । उनले जानेको र गर्दै आएको प्रेम यही नै हो ।

२०३५ साल माघ १२ गते बुवा छोटीलाल र आमा स्यानी चौधरीको कोखबाट कान्छो सन्तानका रुपमा जन्मेका उनका दुई सन्तान छन् । उनको जीवन पनि बहरुपी गराजस्तै छ । राजनीति, सामाजिक अभियान्ता, लेखन सबै छ उनको । दुई वर्षअघि उनी थारु कल्याणकारिणी सभा दाङको अध्यक्षमा निर्वाचित भए । त्यो पनि मेरो लागि अर्को खुसी हो’, उनले भने– ‘यही फोरमबाट थारु मुभमेन्ट अघि बढेको छ ।’ त्यसैगरेर उनी लेखनमा पनि त्यतिकै छन् । थारु भाषामा गजलसंग्रह प्रकाशन गरेका छन् भने धेरै पत्रपत्रिका सम्पादन गर्ने गरेका छन् ।

गोरक्ष अनलानइबाट साभार

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित